२०७८ भदौ २ गते पार्टी विभाजनपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल एउटै मञ्चमा बिरलै बसेका छन्। राजकीय कार्यक्रमहरूमा बाहेक उनीहरू एउटै मञ्चमा देखिँदैनन् पनि।
गत मंगलबार (भदौ ४ गते) राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका थिए। बैठकमा एमाले अध्यक्ष ओली गएनन्।
अध्यक्ष नेपालले एकीकृत समाजवादीको छाया पर्छ भनेर ओली बैठकमा नआएको टिप्पणी गरे।
अध्यक्ष नेपालको यही अभिव्यक्तिबाट प्रष्ट हुन्छ, उनीहरू एक-अर्कालाई देख्नेबित्तिकै पनि आफूलाई कति असहज महसुस गर्छन्। र, देख्नै नपरे हुन्थ्यो ठान्छन्!
सोमबार यी दुई अध्यक्ष एउटै लहरमा बसे। प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिको निर्वाचनमा उनीहरू एउटै लहरमा बसेका हुन्।
पूर्वप्रधानमन्त्रीको हैसियतमा दुवै अध्यक्षलाई सँगसँगै बस्ने बन्दोवस्त मिलाइएको थियो।
एउटै लहरमा सँगै बस्दा दुबै नेताले केही असहज महसुस गरेको उनीहरूको भावभंगीले नै प्रष्ट देखाउँथ्यो।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका तर्फबाट राजकिशोर यादवको उम्मेदवारी परेको थियो।
एकल उम्मेदवारी परेकाले मतदानको प्रक्रिया अघि बढाउनु परेन।
सभापति चयनको विधि पुर्याउनुपर्ने भएकाले बैठकमा अध्यक्ष ओली र नेपाल पनि उपस्थित थिए। सँगै बसे पनि दुई अध्यक्षबीच संवाद भने नभएको सांसदहरूले बताए।
तस्बिरहरू:
सबै तस्बिरहरू: नवीनबाबु गुरूङ/सेतोपाटी।