नेपाली कांग्रेसका सांसद सुनिल शर्माले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को हिरासतबाट अभिवादन गरेका छन्।
बिहीबार काठमाडौंको मण्डिखाटारस्थित निवासबाट पक्राउ परेका सांसदलाई सिआइबीको लैनचौरस्थित कार्यालयमा राखिएको छ। त्यहाँ रहेको झ्यालबाट सुनिल शर्माले अभिवादन गरेका हुन्।
सिआइबीले उनलाई मण्डिखाटारबाट पक्राउ गरेलगत्तै उनले उत्तर कोरियाली सरकारले पक्राउ गरेको टिप्पणी गरेका थिए।
‘उत्तर कोरियाको राज्य सत्ताद्वारा गिरफ्तार सुनिल शर्मा,’ उनले भनेका थिए, ‘आइएम ह्याप्पी, डन्ट वरी।’
उनले आइएस्सीको शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोप छ।
सिआइबीले प्रमाणपत्र कीर्ते गरेको आरोपमा देशभरि नै अपरेशन चलाएको छ। ‘फोक्स्ट्रोट चार्ली अपरेशन’ चलाएर शर्मालाई पक्राउ गरेको हो। यस प्रकरणमा अन्य व्यक्तिहरू पनि पक्राउ परेको स्रोतले बतायो। यद्यपि कति जना छन् र को-को छन् भन्ने सिआइबीले जानकारी दिएको छैन।
राष्ट्रिय परीक्षा बोर्ड, सानो ठिमी भक्तपुरले २०७९ साउन ५ गते १९९६ सालमा रोल कोड ६५०४, रोल नम्बर १०११७ आइएससी तहको प्रमाणपत्रमा कैफियत अपुष्टित (नट भेरिफाइड) भनेर लेखिएको थियो।
यस सम्बन्धमा सिआइबीले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ। ब्युरो प्रमुख एआइजी किरण बज्राचार्यले सभामुख घिमिरेलाई पत्र पठाएर जानकारी गराएकी हुन्।
पत्रमा ‘कतिपय चिकित्सकहरूले भारतीय नक्कली प्रमाण पत्रहरू पेश गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाण पत्र परीक्षामा सहभागी भएको पाइएकाले कानूनबमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको नेपाल मेडिकल काउन्सिल, बाँसबारीबाट सूचना प्राप्त भएको र यसैगरी शैक्षिक प्रमाण पत्र प्रमाणीकरण सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्ड, सानो ठिमी, भक्तपुरको च नं १ मिति २०७९/०४/०५ गतेको पत्रबाट १९९६ सालमा रोल कोड ६५०४, रोल नम्बर १०११७, आइएस्सी तहको सुनिल कुमार शर्माको कैफियतमा अपुष्टित भनी लेखी आएको र सो सन्दर्भमा उक्त शैक्षिक योग्यताको प्रमाण पत्र कीर्ते गरेको कसूरमा प्रचलित कानूनबमोजिम अनुसन्धान गर्नु पर्ने भएकोले’ भन्ने व्यहोरा उल्लेख छ।
शर्मामाथि नक्कली शैक्षिक प्रमाण पत्र बनाएको आरोप केही समय पहिले नै लागेको थियो।
२०७३ सालमा सिआइबीले नै शर्मामाथि यसबारे अनुसन्धान गरेको थियो।
केही दिनअघि सांसद शर्माले प्रतिनिधि सभा बैठकमा सुन प्रकरणबारे बोलेका थिए। उनले सुन प्रकरण छानबिन गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा मागेका थिए।
यसबारे कांग्रेसका प्रवक्तासमेत रहेका अर्थमन्त्री महतले अस्पतालले बीमा रकम नपाएपछि शर्माले अनेक आरोप लगाइरहेको प्रतिक्रिया दिएका थिए।
‘अराजकता र अनुशासनहीनताको चरम रूप हो यो,’ महतले कांग्रेस केन्द्रीय कार्यालयमा साउन १० गते आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘उहाँ (सुनिल शर्मा) को अस्पताल छ। उहाँले बीमा हामीले पनि पाउनुपर्यो भन्ने माग गरिरहनुभएको थियो। उहाँले अर्थमन्त्रीले भनिदिए तुरून्तै बीमाको कुरा मिल्छ भन्नुभएको थियो। त्यो नहुनेबित्तिकै उहाँ भड्किनुभयो।’
तस्बिरहरू: