नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले महमन्त्री गगन थापा र विश्वप्रकाश शर्माको भूमिकाप्रति प्रश्न उठाएका छन्।
आइतबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले महामन्त्रीहरूले सभापतिलाई दोष लगाउने काम गरिरहेको बताए।
‘महामन्त्रीहरूले सभापतिलाई दोष लगाउने प्रवृत्ति किन सिर्जना भयो,’ उनले प्रश्न गरे, ‘के कारणले सिर्जना भयो। महामन्त्रीहरूले सभापतिलाई विश्वासमा लिएर जानुपर्ने हो।’
महामन्त्रीहरूले सभापतिसँग असहमति राखेर पार्टी अगाडि बढाउने भन्ने कुरा भ्रम रहेको उनको भनाइ थियो।
उनले वडा र टोल कार्यसमितिलाई बलियो बनाउनुपर्ने बताए।
‘वडादेखि केन्द्रसम्म सर्वसम्मत समिति चयन गरौं मैले भनेको थिए,’ उनले भने, ‘तर यहाँ लोकतन्त्रवादी धेरै नेता छन्।’
उनले केन्द्रीय सदस्यलाई बोल्न ७ मिनेटभन्दा पनि कम्तीमा १० मिनेट समय दिनुपर्ने बताएका थिए।
उनले भ्रातृ संस्थाहरूमा संस्थापनइतरले भाग लिइरहेको बताए। ‘महाधिवेशनमा चुनाव लड्दा शेखर कोइरालाले भाग लिन्न भन्नुभएको थियो। अहिले भ्रातृ संस्थामा भाग लिइरहेको जानकारीमा छ,’ उनले भने।