जनता समाजवादी पार्टीका सांसद प्रदीपकुमार यादवले वर्षाको बेलामा पनि तराई सुख्खा हुन पुगेको बताएका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले पर्सामा रोपाइँ नै हुन नसकेको बताएका हुन्।
‘अहिले खास गरेर पर्सा सुख्खा छ। पानी छैन। गण्डकबाट नहरमा जुन मात्रामा पानी आउनुपर्ने हो, त्यो मात्रामा आएको छैन। धेरै कम पानी आएको छैन। सम्झौता अनुसार पानी आएको छैन। नहर सफाइ भएको छैन। जलकुम्भी उम्रिएको छ। नहर माटोले पुरिएको छ। त्यसैमाथि पानी छाडेर किसानको खेतमा पुग्दैन,’ उनले भने।
उनले सिँचाइमन्त्रीलाई नसुत्न पनि आग्रह गरे।
‘तपाईं नसुत्नुस्, काठमाडौंको चार किल्लाको दायरामा नरहनुस्, सिँचाइमा ध्यान पुर्याउनुस् जनता कती मारमा छ, त्यो हेर्नुहोस् सिंहदरबारको आँखा मधेस-पहाडतिर पनि जाओस्,’ उनले भने।
उनले चुरे दोहनमा सरकार योजनाबद्ध हिसाबले लागेको बताए। ‘कसरी गिट्टी बालुवा निकाल्ने, कसरी खर्बौं कमाउने? भन्ने ध्यान छ। भोलिका दिनमा तराई मरूभूमि हुन्छ यसमा सरकारलाई त्यसमा चिन्ता छैन,’ उनले भने।