नेकपा (एमाले)का सांसद रघुजी पन्तले नेपालको गीत–संगीत यहाँको सौम्य शक्ति (सफ्ट पावर)लाई सरकारले उपेक्षा गरेको बताएका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै पन्तले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई भवन बनाउन दिएको १५ रोपनी जग्गा पनि व्यापारीलाई लिजमा दिएको उनले बताएका हुन्।
उनले त्यतिबेला अम्बर गुरूङको प्रशंग पनि ल्याएका थिए। पन्तले अम्बर गुरूङसँगको भेटमा उनले राजा महेन्द्रले गीत–संगीतमा दिएको ध्यानबारे बताएको चर्चा गरेका थिए।
नेपालको सौम्य शक्ति नेपालको संस्कृति पनि हो। राजा महेन्द्र बाँचिरहेको भए नेपाली गीत–संगीत अझ फस्टाउँथ्यो भनेर अम्बर गुरूङ मलाई भन्नुहुन्थ्यो। म राजावादी होइन तर राम्रो कुरा राजाहरूबाट पनि सिक्दा हुन्छ,’ उनले भने, ‘संगीत नाट्य प्रज्ञाप्रतिष्ठानको लागि भनेर छुट्टयाएको जग्गा व्यापारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लिजमा दिएको छ। त्यहाँ तुरून्त भवन बनाइयोस्।’
त्यसपछि बोलेका राप्रपाका सांसद दीपक सिंहले त्यही भएर आफूहरूले संसदमा राजा ल्याउनुपर्ने माग राखेको बताए।
‘म भन्दा पहिले रघुजीले बोल्नु भएको थियो, हिजो राजाको बेलामा गीत–संगीतले फड्को हान्थ्यो भनेर। त्यो दुर्भाग्य भो। त्यही कारण यो सदनमा हामी राजाको माग गरिरहेका छौं,’ उनले भने।