राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सार्वजनिक सम्पदाहरूमा चुनाव चिन्ह घन्टी नराख्न अनुरोध गरेको छ।
बुधबार साँझ रास्वपाका प्रवक्ता मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक सम्पत्तिको दुरूपयोग नगर्न अनुरोध गरेका हुन्।
‘राजनीतिक वा कुनै पनि बहानामा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नु हुँदैन भन्ने पार्टीको स्पष्ट मान्यता रहेको सम्बन्धित सबैलाई स्मरण गराउँदै पार्टीको नीति तथा मान्यताबाट बाहिर गएर सार्वजनिक सम्पतिको दुरुपयोग नगर्न यही सूचनामार्फत् सचेत गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ।
गत वैशाखमा भएको उपनिर्वाचनमा चितवनका सडकहरूमा घण्टी चिन्हहरू बनाइएका थिए। केही दिन अघि भरतपुर महानगरपालिकाले एक सूचना जारी गर्दै चिन्ह नबनाउन अनुरोध गरेको थियो। रास्वपाले त्यस सूचनाको समर्थन गरेको छ।
‘भरतपुर महानगरपालिकाले सडकमा बनाइएको घण्टी चिन्हप्रति सार्वजनिक गरेको सूचनाको समर्थन गर्दै हाम्रो पार्टीको चिन्ह सडकमा बनेबाट पर्न गएको असुविधाका लागि क्षमा याचना गर्दछौं,’ रास्वपाले भनेको छ।