सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सचिवालय विघटन गर्नुपर्ने बताएका छन्।
शुक्रबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा बोल्दै पाण्डेले एकजना सांसदले गरेको प्रश्नको उत्तरसम्म तयार गरिदिन नसक्ने सचिवालय आवश्यक नरहेको बताएका हुन्।
‘सम्माननीय प्रधानमन्त्रीले उत्तर दिँदै गर्दा एक जना माननीयले सोधेको प्रश्नको उत्तर पनि आएको रहेनछ। यो त ३ दिन अगाडि प्रश्न गरेको हो नि। उहाँको सचिवालयले तयार गरिदिनुपर्थ्यो कि पर्दैन थियो?’ उनले भने, ‘विघटन गरिदिए हुन्छ त्यस्ता सचिवालय।'
एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका उनले प्रधानमन्त्रीको सचिवालय सचिवहरू थन्क्याउने कवाडीखानाजस्तो रहेको समेत बताए।
‘अहिले मन्त्रीहरुले मन नपराएका सचिवहरू त्यहाँ कवाडीखानाजस्ता थन्क्याउने स्थिति रहेछ। हरेक फ्रष्टेड सचिवहरू त्यहाँ जम्मा हुने भएपछि उनीहरुले काम गर्छन्?’ उनले भने।