लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।
भगवान गौतम बुद्धको जन्मथलो लुम्बिनीस्थित थाइ मिनिस्टर हलमा उनीहरूबीचमा बुधबार बिहान संयुक्त रूपमा योग अभ्यासपछि कूटनीतिक भेटघाट भएको हो।
मुख्यमन्त्री चौधरीको सचिवालयका अनुसार भेटघाटका क्रममा मुख्यमन्त्री चौधरीले अलपत्र अवस्थामा पुगेको तुलसीपुर–घोराही चार लेन सडक खण्ड निर्माणको काम तत्काल सुरू गर्नका लागि भारतीय राजदूत श्रीवास्तवलाई आग्रह गरेका थिए।
मुख्यमन्त्री चौधरी र भारतीय राजदूत श्रीवास्तवका बीचमा हुलाकी सडक समयमै सम्पन्न गर्ने बारेमा, पूर्व गोरखा (भारतीय सेना) को बस्ती क्षेत्रमा पानी ट्याङ्की र पानी आपूर्तिको नविकरण गर्नेबारे पनि छलफल भएको थियो।
भारतीय एक्जिम बैंकको एक करोड २१ लाख ८२ हजार तीन सय अमेरिकी डलरमा सडक निर्माणको जिम्मा लिएको भारतीय निर्माण कम्पनी तथ्यले पाँच वर्षसम्म काम नगरी सडक अलपत्र छोडेपछि सरकारले गत जेठ महिनामा सम्झौता रद्द गरिसकेको छ। अब यो सडक खण्ड कहिले र कसरी निर्माण होला भन्ने अन्यौलता उत्पन्न भएको छ।