राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद बिना लामाले बालबच्चाहरूलाई राजनीतिक संगठनमा जोडेर उनीहरूको भविष्यलाई अन्यौलमा नपार्न अनुरोध गरेकी छन्।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बालबच्चाहरूमाथि अन्याय भइरहेको जानकारी गराएकी हुन्।
‘सम्बन्धित सबै दललाई ध्यानाकर्षण गराउन र निवेदन गर्न चाहन्छु। अबदेखि राजनीतिक संगठनको लागि बच्चाहरूको भविष्य अन्यौल नबनाउनुस्,’ उनले भनिन्।
उनले कालिकोटको पलाता गाउँपालिकामा अनेरास्ववियुले कक्षा ६,७,८ र ९ मा अध्ययनरत विद्यार्थीहरूलाई पार्टीको झन्डा बोकाएको भन्दै सम्बन्धित दल र सरकारको ध्यानाकर्षण गराएकी हुन्।
‘म विशेषगरी हाम्रो बालबच्चामाथि भइरहेको अन्याय, विकृति र विसंगतिबारे ध्यानाकर्षण गराउन चाहन्छु। हिजो मात्रै कालिकोटको पलाता गाउँपालिकामा कक्षा ६,७,८ र ९ मा अध्ययनरत बच्चाहरूलाई अनेरास्ववियुको झन्डा बोकाएर र निधारमा टिका लगाएर संगठन गर्ने काम गरिएको छ। के बालबच्चाको भविष्य झन्डा बोकाएर र निधारमा टिका लगाएर उज्जवल बनाउन सक्छौं?,’ उनले प्रश्न गरेकी छन्।