राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले शैक्षिक प्रमाणपत्रमा पनि थर सच्याउने व्यवस्था गर्न माग गरेकी छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद डाँगीले नागरिकतामा थर सच्याउन मिल्ने तर थर परिवर्तन गरिएको नागरिकता लिएर शैक्षिक प्रमाणपत्रमा थर सच्याउन परीक्षा नियन्त्रण कार्यालय जाँदा उनीहरूको थर नसच्चिएको बताइन्।
'नागरिकतामा थर सच्चिने तर प्रमाणपत्रमा थर नसच्चिने यो कस्तो प्रकारको नियम हो ?,' उनले प्रश्न गरिन्,'सम्बन्धविच्छेदपछि महिलाहरूले जन्मघरतर्फको थर राखेर नागरिकता लिन पाउँछिन् ।तर, शैक्षिक प्रमाणपत्रमा श्रीमानको थर हटाउन मिल्दैन किन?'
डाँगीले नाम, उमेर र जात सच्याउने नियम २०१७ संसोधन नभएका कारण कैयौं नागरिकहरू पीडित भइरहेका बताउँदै यसतर्फ गृह र शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराइन्।