राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले अस्पतालको बिल देखाउँदै उनले राज्यले नै कालोबजारी गरिरहेको बताएकी छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले एक अस्पतालबाट किनेको औषधिको बिल देखाएर कालोबजारी गरिरहेको बताएकी हुन्।
‘निकै लाजमर्दो विषय उठान गर्दैछु। राज्यको ठगीको नमुना छ। मसँग शहीद धर्मभक्त मानव प्रत्यारोपण केन्द्रको एउटा बिल छ। यो डायलासिस गराइरहेका बिरामीको बिल हो,’ उनले भने, ‘यसमा इपोफिट नामक औषधिको बिक्री मूल्य १४०५ रुपैयाँ छ। यसको खाली खोल पनि मसँग छ जसमा अधिकतम खुद्रा मूल्य ५ सय भारू अर्थात नेपाली ८ सय पर्न आउँछ।’
उक्त औषधिमा ७५ प्रतिशत बढी नाफा खाएको भन्दै कालोबजारी कति खाएपछि नमानिने वा मानिने भन्दै प्रश्न गरेकी हुन्।
‘२० प्रतिशत अधिकतम पाउनेमा यहाँ ७५ प्रतिशत बढी छ। मेरो प्रश्न छ राज्यले कति नाफा खाएसम्म मात्रै यो कालो बजारी नमानिने हो या कालोबजारी मानिने हो?,’ उनले सोधिन्,‘यसरी संस्थागत रुपमै नागरिकलाई स्वास्थ्य बीमाबाट भुक्तानी हुन्छ भन्दैमा नागरिकलाई ठग्न मिल्छ?’
उनले थपिन्, ‘हप्ताको तीन पटकसम्म डायलासिस गराउनुपर्ने नागरिकलाई गरिबलाई राज्यले नै यसरी लुट्ने? हाम्रो इमान धर्म कता जाँदैछ? स्वास्थ्य बीमा जस्तो महत्वपूर्ण सार्वजनिक विषयको कार्यक्रमलाई धरासायी बनाउन निजि मात्रै होइन सरकारी संस्थाको नितिगत ठगी पनि जिम्मेवार छ। यस्ता ठगीलाई तत्काल कारबाहि गरियोस्।’