नेकपा एमालेका सांसद ठाकुर गैरेले आदिपुरूषका लेखकको अभिव्यक्तिलाई लिएर देशको रक्षा गर्न जुनसुकै मूल्य चुकाउन पनि तयार भएको बताएका छन्।
आइतबार प्रतिनिधि सभा सदस्यको बैठकमा बोल्दै गैरेले भारतले भ्रमपूर्ण सन्देश पैलाइरहँदा नेपाल सरकारले के गरिरहेको भन्ने प्रश्न गरेका छन्।
उनले भारत सुगौली सन्धीबाट पछि हटेको हो भनेर पनि प्रश्न गरेका हुन्।
‘नेपाल सरकार के गर्दैछ? के भारत सुगौली सन्धीबाट पछि हटेको हो? नेपाल सरकार स्पष्ट हुन जरूरी छ,’ उनले भने, ‘नेपाललाई ग्रेटर नेपालको बहसतर्फ र त्यसको पक्षधर बनाएर धकेल्न खोजेको हो? देशको रक्षाका लागि नेपाल जुनसुकै मुल्य चुकाउन तयार छ। हामी नेपालको एक इन्च भूमि सुम्पिन तयार छैनौं। नेपालको रक्षाका लागि हामी तयार हुनुपर्छ।’
यसअघि पनि भारतले गौतमबुद्ध भारतमा जन्मिएका हुन् भन्ने भाष्य बनाएर भ्रमपूर्ण समाचार प्रवाह गरेको र अहिले पनि सदनमा नेपालको कपिलवस्तु र लुम्बिनीलाई समेटेर गलत गलत सन्देश फैलाएको उनले बताए।
‘अहिले फेरि आदिपुरूष सिनेमाको नाममा सीता भारतकी छोरी हुन् भन्ने अर्को भ्रमपूर्ण समाचार, सन्देश प्रवाह गर्नेमात्रै होइन त्यसका लेखकले नेपाल भारतकै अंग हो भनेर अन्तर्वार्तामार्फत अत्यन्त गलत अभिव्यक्ति दिइरहेका छन्,’ उनले भने।