नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा अहिले देखिएको निराशाको कारण सबै कुरा सरकार र सत्ता हो भन्ने ठानिनु रहेको औंल्याएका छन्।
‘सत्ताका लागि हामी सबै कुरा गर्छौं भन्ने जुन इमेज बन्यो, आज निराशाको मूल कारण यही हो,’ ललितपुरमा सोमबार भएको कार्यक्रममा महामन्त्री थापाले भने, ‘गल्ती जहाँबाट भएको छ, सच्याउने काम त्यहीँबाट गर्नुपर्छ।’
उनले अहिलेसम्म पार्टीका बैठकमा आफूले विभिन्न विषयमा फरक मत राख्दै आएको बताए।
‘फरक मत राखियो तर पार्टीको बहुमतले गरेको निर्णय भनेर मानियो,’ उनले भने, ‘अब मानिन्नँ, अब लडिन्छ। कांग्रेसले गरेका गल्ती स्वीकार गर्दै, जनतासँग माफी माग्दै कांग्रेसले घोषणा गर्नुपर्छ- चुनाव हारे हारिन्छ। जीवनमा कुनै पार्टीसँग चुनावमा गठबन्धन गर्दैन। तीन पटक चुनाव हारे हारिन्छ। भुइँमा बस्नु परे बसौंला।’
उनले चुनावअघि दलहरूसँग तालमेल गर्नु गल्ती भएको पनि बताए।
‘चुनाव जितिसकेपछि आफ्नो मतले मात्र सरकार बनेन भने हामी अर्को पार्टीसँग मिल्छौं र सरकार बनाउँछौं,’ उनले भने, ‘चुनावअघि नै अर्को पार्टीसँग तालमेल गरेर अर्को पार्टीको चिन्हमा मत हाल भन्छौं भने हाम्रो पार्टीको परिचय, पहिचान, छविमा प्रश्न उठ्यो।’
चुनाव जित्ने र हार्ने विषयलाई ठूलो मान्न नहुने उनले बताए। तर विचार, निष्ठा र सिद्धान्तलाई छाड्न नहुने उनले बताए।