सडक बनाउँदा होटल भत्किएपछि गोरखाका तेलबहादुर घले काठमाडौंको माइतीघर मण्डलमा धर्ना बसेका छन्।
केही वर्षदेखि नेपाली सेनाले आरूघाट-लार्के सडक निर्माण गर्दैछ।
सडक बनाउने क्रममा सेनाले पहरो फुटाउँदा धार्चे गाउँपालिका वडा नम्बर ९ केरौंजास्थित दोभानमा रहेको 'न्यु बूढीगण्डकी भ्याली गेष्ट हाउस एण्ड रेष्टुरेन्ट' मा क्षति पुगेको थियो।
गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर २ का घलेले छिमेकी गाउँपालिका धार्केको मनास्लु पदमार्गस्थित दोभानमा होटल चलाएका थिए।
‘२०७५ साल असोज १४ गते ब्लास्ट गर्दा मेरो होटल भत्किएको हो,’ उनले भने, ‘सेनाले उचित क्षतिपूर्ति दिएन।’ उनले २०७३ सालको अन्तिममा होटल सुरू गरेका थिए।
एक वर्ष होटल सञ्चालन गर्न पाएको र त्यस अवधिमा ११ लाख रुपैयाँ आम्दानीसमेत गरेको घले बताउँछन्।
‘होटल बनाउन ४५ लाख रुपैयाँ खर्च भएको थियो। एक वर्षको आम्दानीले ११ लाख ऋण तिरेँ, ३४ लाख ऋण अझै छ,’ उनले भने, ‘होटल बनाएको जग्गा वर्षको १ लाख रुपैयाँ बुझाउने गरी भाडामा लिएको थिएँ। ४ वर्ष भयो जग्गाको भाडा पनि तिर्न सकेको छैन।’
नेपाली सेनाले मेजरको नेतृत्वमा सडक निर्माण कार्यदल राखेको छ। पहिले यहाँ निशान्त पण्डित मेजर थिए।
‘मेजर पण्डितका पालामा क्षतिपूर्ति पाइएन। नयाँ मेजर विनोद भट्ट आएपछि १३ लाख ८२ हजार रुपैयाँ क्षतिपूर्ति भनेर बैंकमा पठाइदिएका छन्,’ घलेले भने, ‘उचित क्षतिपूर्ति पाइएन। कसैले मेरो समस्या सुन्छ कि, समाधान गरिदिन्छ कि भनेर यहाँ बसेको हुँ।’
उनले न्यायका लागि अदालत जाने तयारी सुरूमा गरे पनि एक चरण क्षतिपूर्ति पाएकोले नगएको बताए। ‘न्यायलय जान पाए त चित्त बुझ्थ्यो तर एकचरण क्षतिपूर्ति लिएकोले जान मिल्दैन पनि भन्छन्, त्यसैले यहाँ बसेको हुँ,’ उनले भने, ‘म नमान्दा नमान्दै बैंक खातामा पैसा हालिदिएछन्। काठमाडौंको बानियाँटारमा लगेर सही गर्न लगाएका थिए।’
उनले आफ्नो होटलका सामग्री बिग्रिसकेको पनि बताए। ‘म पहिले पर्यटक गाइड थिएँ। अलिअलि अनुभव भएको भएर होटल व्यवसाय सुरू गरेको थिएँ तर सडक खन्दा भत्कियो। ऋण तिर्न गाह्रो भयो, उचित क्षतिपूर्ति पनि पाइएन,’ उनले भने।
बेनिघाट-आरूघाट-लार्के भञ्याङ सडक ट्रयाक २०७४ वैशाख ११ गते शिलान्यास गरी सेनाले काम सुरू गरेको थियो। तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्री यो सडक ट्रयाक शिलान्यास गरेका थिए।