नेकपा (एमाले)का सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले कांग्रेसले जनयुद्ध स्वीकार गरेको हो भनेर प्रश्न गरेका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसद भट्टराईले २०७२ पछिका सरकारी दस्तावेजमा कतै जनयुद्ध शब्द उल्लेख नभएको तर पहिलोपटक प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रपतिको मुखबाट वाचन गर्न लगाएको बताए।
‘आज मेरा केही प्रश्न नेपाली कांग्रेसप्रति छ। यो संवोधनको पहिलो नम्बर बुँदामा हाम्रो असहमति छ, यहाँ विगतमा भएका आन्दोलनहरूको व्याख्या गर्दै जनयुद्ध पनि उहाँ उच्चारण भएको छ। २०७२ सालको संविधानपछि नेपालको कुनै पनि दस्तावेजमा यो शब्द उल्लेख भएको छैन। पहिलोपटक प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिको मुखबाट वाचन गर्न लगाउनुभएको छ,’ उनले भने।
भट्टराईले अमेरिकी लेखक फ्रान्सिस फुकुयामाले १९९३ तिर लेखेको ‘द इन्ड अफ् हिस्ट्री द एण्ड लास्ट म्यान’को चर्चा गर्दै अहिलेको कांग्रेसलाई नै हेरेर लेखिएको हो कि भन्न भ्याए।
‘त्यतिबेला सोभियत युनियन ढलिराखेको थियो, विश्वमा समाजवादी राज्यव्यवस्थामाथि ठूलो संकट आइराखेको थियो सम्भवतः दुनियाँ पुँजीवादकै नेतृत्वतिर जान्छ भनेर समाजवादको अन्त्य भयो भनेर इतिहासको अन्त्य भन्न खोजिएको थियो। त्यो कुरालाई दुनियाँका मार्क्सवादीहरूले अस्वीकार गरे। तर, आज मलाई के लाग्छ भने, फ्रान्सिस फुकुयामाले बीपी, गणेशमान, किसुनजीपछाडिको गिरिजाप्रसादजस्ता व्यक्तित्वपछिको निम्छरो नेपाली कांग्रेसको हालत देखेर नेपाली कांग्रेसलाई नै यो लेख्नु भएको हो कि,’ उनले टिप्पणी गरे।
नीति कार्यक्रमको एक नम्बर बुँदा कांग्रेसले स्वीकार्छ भने कांग्रेसको 'इन्ड अफ् द हिस्ट्री' नै भएको उनको भनाइ थियो।
‘हिजो, हाम्रो अध्यक्षले इतिहासले बाईबाई त गर्दैन भन्नुभयो, सी यु लेटर भन्छ भन्नुभयो, नेपाली कांग्रेसको सन्दर्भमा यो अपवाद बन्नेछ। नेपाली कांग्रेसलाई हिस्ट्रीले बाइबाइ गर्न सक्छ,’ उनले भने।