नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय समिति सदस्य बालकृष्ण खाणलाई किन पार्टीबाट निलम्बन नगरेको भन्दै सभापति शेरबहादुर देउवालाई प्रश्न गरेको छ।
नेविसंघ त्रिचन्द्र क्याम्पस इकाइले आइतबार बिहान प्रदर्शन गर्दै खाणलाई निलम्बन गर्न माग गरेको हो।
सभापति देउवा प्रधानमन्त्री हुँदा खाण गृहमन्त्री थिए। साथै खाण नेविसंघका पूर्वअध्यक्ष पनि हुन्। उनी २०४४ सालमा नेविसंघ अध्यक्ष थिए।
नेविसंघ नेता गोविन्द कोइरालाले भ्रष्टाचारविरूद्ध आफूहरूले प्रदर्शन गरेको बताए। ‘देशमा व्याप्त समग्र भ्रष्टाचार काण्डहरूमा निष्पक्ष छानबिन हुनुपर्छ भनेर प्रदर्शन गरिएको हो,’ उनले भने।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणलाई सरकारले निष्पक्ष छानबिन गरेर टुंगोमा पुर्याउनुपर्ने बताए।
कांग्रेसभित्र सभापति देउवा पक्ष अहिले नै खाणलाई निलम्बन गर्ने पक्षमा उभिएका छैनन् भने उपसभापति धनराज गुरूङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने खाणलाई निलम्बन गर्नुपर्ने पक्षमा छन्।
तस्बिरहरू: