नेकपा (एकीकृत समाजवादी)ले नक्कली भुटानी शरणार्थी प्रकरण आर्थिक अनियमिततामात्रै नभएर मानव तस्करी भएको ठहर गरेको छ।
पार्टीको सचिवालय बैठकले कुनै दबाब वा प्रभावबाट यो काण्डको अनुसन्धान र कारबाही प्रक्रिया कमजोर नतुल्याउन सरकारको ध्यानाकर्षण गराएको छ।
‘छानबिनको दायरा बढ्दै जाँदा यस काण्डको अनुसन्धानलाई नाजायज प्रभाव पार्ने ‘दौडधुप’ पनि भैरहेको कुरा बाहिएको छ। भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा प्रभावकारी कानूनी तथा प्रशासनिक कार्यवाही नहुँदा लोकतन्त्र र न्याय कमजोर हुँदै जान्छन्,’ एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विगतमा यस्ता कैयन् घटनाहरू स्थार्थ समूहका दबाबका कारणले ढाकछोप भएका छन्। तसर्थ, कुनै पनि शक्तिले कुनै पनि बहानामा पार्ने कुनै पनि दबाब वा प्रभावबाट यो काण्डको अनुसन्धान र कार्यवाही प्रक्रिया कमजोर हुन नजाओस्।’
यस प्रकरणविरूद्ध उभिन र क्रियाशील हुन नेकपा एसले पार्टी पंक्तिलाई निर्देशन समेत दिएको छ।