स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आफूलाई सभामुखले बोल्न नदिएपछि बाध्य भएर अर्धवस्त्र भएको बताएका छन्।
सेतोपाटीसँग कुराकानी गर्दै सांसद सिंहले आफूले पटक\पटक सभामुखसँग समय मागेको तर समय नपाएको समेत बताए।
'मैले सभामुखलाई पहिला नै बोल्न दिनुस् भनेको थिएँ। तर मलाई बोल्न दिइएन। नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तापक्षले दबाब दिएर बयान परिवर्तन गरेको विषयमा मैले बोल्न खोजेको थिएँ,' उनले भने, 'मलाई जनताको आवाज उठाउन नदिएपछि मसँग अरू विकल्प थिएन। म अर्धवस्त्र भएकै हो।'
अर्धवस्त्र भएर विरोधको परकाष्ठा देखाएकोमा आफूलाई पछुतो नरहेको उनले बताए।
अर्धवस्त्र भएको कारण जस्तोसुकै सजाय दिए पनि आफू भोग्न तयार रहेको समेत उनले बताए।
सोमबारको संसद बैठकमै आफूले लगाएका लुगा उनले खोलेका थिए। बैठक सुरू हुनासाथ बोल्न नपाएको भन्दै उनले आफूले लगाएका लुगा खोलेका हुन्। सांसद सिंहले शरीरको माथिल्लो भागमा लगाएका लुगा खोलेपछि सभामुख देवराज घिमिरेले उनलाई शिष्ट भएर व्यवहार गर्न नभए थप कारबाही गर्ने चेतावनी दिएका थिए।