प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा भुटानी शरणार्थी प्रकरणबारे उठेका कुराले सरकारको मनोबल बढेको बताएका छन्।
आइतबार बसेको प्रतिनिधिसभाको बजेट अधिवेशनको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले यस विषय संसदमा उठ्नु सकारात्मक भएको बताएका हुन्।
यस अनुसन्धानमा दोषी कोही नछुटुन् र निर्दोष कोही नपरून् भन्ने उद्देश्यले अनुसन्धान भइरहेको उनले बताए।
हिरासतमा रहेका व्यक्तिहरूलाई बयान परिवर्तन गराउन दबाब आइरहेको भन्ने छ भनेर सोधिएको प्रश्नमा उनले भने,‘त्यो होइन। कसैले त्यहाँ दबाब दिएर केही हुनेवाला छैन।’
यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस प्रकरणबारे कडाइका साथ अनुसन्धान गर्न कारबाही गर्न माग राखेको पनि बताएका छन्।
‘मैले कडाइका साथ कारबाही गर्नुस् जुन दोषी छन्, उपयुक्त ढंगले छानविन गरेर कडाइका साथ कारबाही गरोस् सरकारले र प्रहरीको छानविनमा सरकारले कतैबाट हस्तक्षेप गर्ने, बयान फेराउने, यस्तो नगरोस्,’ उनले भने,‘ निष्पक्ष ढंगले जो दोषी छन् तिनीहरूलाई कारबाही गरोस्। निर्दोषलाई फसाउने खालको प्रयास नगरोस्।’
यस्तै एमाले सचिव टोपबहादुर रायमाझी आफूहरूको सम्पर्कमा नभएको पनि उनले बताए।
‘हाम्रो सम्पर्कमा भएको भए सरकारको सम्पर्कमा पनि भइहाल्नुहुन्थ्यो होला नी,’ उनले भने।
बालकोटमा हुनुहुन्छ भन्ने कुरा पनि आयो नी भन्ने प्रश्नमा उनले भने, ‘त्यो जसले भन्यो त्यो उसैको घरमा होला।’