लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि राजनीतिक दलहरूलाई आह्वान गरेका छन्।
प्रदेश प्रमुख शेरचनले मंगलबार संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश सरकार गठनका लागि आह्वान गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयका सचिव प्रह्लाद पोखरेलद्वारा मंगलबार जारी सूचनामा बिहीबार दिउँसो ४ बजेसम्म सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिएको छ।
यसअघि सोमबार मुख्यमन्त्री लीला गिरीले विश्वासको मत नपाएपछि गिरी नेतृत्वको सरकार ढलेको थियो।
विश्वासको मत नपाएपछि सरकारबाट बाहिरिएको नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धन दुबैले सरकारमा दाबी गरेपछि प्रदेश प्रमुखले कानुनी परामर्शपछि निर्णय दिने बताएका थिए। प्रदेश प्रमुख शेरचनले नयाँ सरकार गठनका विषयमा महान्यायाधिवक्ताको कार्यालय, काठमाडौंमा पत्राचार गरेर सोमबार लिखित राय समेत मागेका थिए।
मंगलबार विज्ञप्ति जारी गर्दै शेरचनले वैशाख १४ गते ४ बजेसम्म दुई वा दुईभन्दा बढी दलको बहुमत जुटाएर आउन आह्वान गरेका हुन्।
यसअघि चैत १२ गते नै नेपाली कांग्रेस र माओवादी केन्द्रसहित आठ दल र एक स्वतन्त्र गरी ५३ सांसदहरूले कांग्रेस नेता डिल्लीबहादुर चौधरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गर्न हस्ताक्षर सहितको दाबी पेस गरिसकेका छन्।
नेकपा एमालेले मुख्यमन्त्रीले राजीनामा नदिएकाले ठूलो दलको हैसियतमा १६८ (३) अनुसार सरकार गठन हुनुपर्ने जिकिर गर्दै आएको थियो।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका चार/चार जना सांंसद छन्। त्यसैगरी जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन/तीन जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक/एक जना र स्वतन्त्र एक सांसद छन्।
गठबन्धनमा फेरबदल नआएमा कांग्रेस–माओवादी सहितको गठबन्धनबाट डिल्ली चौधरी मुख्यमन्त्री बन्ने निश्चित जस्तै छ। किनकि एमाले र राप्रपाको ३३ मत मात्र छ। बहुमतका लागि ४४ सांसद चाहिन्छ।
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/Chetana/bijayamani/lumbini.jpg)