प्रारम्भिक बालविकासका लागि कर्णाली प्रदेशसभा सदस्यहरूको सहकार्य समन्वय समूह (इसिडी ककस) पुनर्गठन गरिएको छ। बिहीबार ककसको पुनर्गठन गरिएको हो।
प्रारम्भिक बालविकास उमेर समूहका बालबालिकाको शिक्षाको लागि नीतिगत पैरवी गर्ने उद्देश्यका साथ गठन गरिएको सांसदहरूको सहकार्य समन्वय समूह यसअघि ११ सदस्यीय थियो। पुनर्गठन गरिएको समूह भने १३ सदस्यीय बनेको छ।
नयाँ समूहमा सांसदहरू राजीवविक्रम शाह, तुलसा मल्ल, मिलन खड्का, जुमकित मल्ल, सन्तोषी शाही, गोमता विक, बलिमाया बुढा, दक्षिणा शाही, ईन्द्रा शाही, देवेन्द्र शाही, कल्याणी खड्का, वीरबहादुर शाही र सुरेश अधिकारी छन्।
नयाँ समन्वय समूहले पहिलो बैठकबाट पदाधिकारी तोक्नेछ। पदाधिकारीमा एक जना संयोजक, दुई जना सह–संयोजक र एक जना सचिव रहने व्यवस्था छ।
समूहमा कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलको सहभागिता गराइएको छ।
यस्तै, जिल्लागत रूपमा जाजरकोट, रूकुम पश्चिम, हुम्ला, सुर्खेत, दैलेख, कालीकोट, जुम्ला, डोल्पा र सल्यानबाट सांसदहरूको प्रतिनिधित्व समूहमा गराइएको छ।
बाँकी रहेको मुगु जिल्लाबाट आमन्त्रित सदस्यका रूपमा सहभागी गराइने इसिडी ककसका पूर्वसंयोजक सीता नेपालीले बताइन्।
आवश्यकताका आधारमा समूहका पूर्व सदस्यहरूलाई पनि आमन्त्रित सदस्यका रूपमा ल्याइने उनले बताइन्।
प्रारम्भिक बालविकासका लागि गठन गरिएको कर्णाली प्रदेशको सांसदहरूको उक्त समूहलाई अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेनले समन्वय गर्ने गरेको छ।
समूहको सचिवालयका रूपमा भने सेतो गुराँस नामक गैरसरकारी संस्थाले काम गर्दै आएको छ।
सांसदहरू जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने भएकाले प्रारम्भिक बालविकासका लागि पनि योगदान पुगोस् भनेर यो समूह गठन गरिएको नेपालीले बताइन्।
‘हामीसँग जनताले धेरै अपेक्षा गरेका हुन्छन्, त्यसकारण उनीहरूको बालबालिकाको लागि पनि यो समूहले नीतिगत रूपमा काम गर्नुपर्छ,’ उनले भनिन्।