नेकपा एमालेका सांसद लक्ष्मी कोइरी महतो हराइरहेको भन्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कटाक्ष गरेका छन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै फरार सूचीमा रहेका सांसद महतो हराइरहेको सूचना सभामुखलाई जानकारी छ/छैन भन्दै प्रश्न गरेका हुन्।
१७ औं बैठक चलिसक्दा पनि महतो लगातार अनुपस्थित रहेको भन्दै उनले प्रश्न गरेका हुन्।
‘एक जना सांसद सभामुखलाई जानकारी दिएर हो कि जानकारी नदिइकन हो? धेरै पटकदेखि संसदमा देखिएको छैन। बाहिर पनि चहलपहल छैन,’ उनले भने, ‘महोत्तरीबाट निर्वाचित सांसद लक्ष्मी कोइरी महतो हराइरहेको सूचना छ सभामुखलाई जानकारी छ कि छैन भन्ने जानकारी पाऊँ भनेर अनुरोध गर्न चाहन्छु।’
मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या गरेको आरोप सांसद महतोमाथि छ।
यस्तै, उनले नेकपा एमालेका अन्य सांसदहरू पनि बैठकमा अनुपस्थित रहेको भन्दै व्यंग्य गरेका छन्।
‘संसदको पहिलो रो हेरे सभामुख महोदय, प्रधानमन्त्री विशेष कामले हुनुहुन्न होला। प्रतिपक्षी दलको त पहिलो, दोस्रो, तेस्रो, पाँचौं रोमा मात्रै माननीय सदस्यहरू देखेको छु,’ उनले भने, ‘अन्त पनि पहिलो रो, दोस्रो रोमा देखेको छैन। संसदमा हाजिर गर्ने टाप कस्ने माध्यम नबनोस् सभामुख महोदय।’