नेकपा एमालेकी सांसद विद्या भट्टराईले नागरिकले राज्यविहीनताको महशुस गरेको बताएकी छन् ।
आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद भट्टराईले आम नागरिकको दैनिक जीवन दैनन्दिन संकटग्रस्त हुँदै गएपनि सरकार भाषण र नारामा मात्रै सिमित रहेको बताएकी हुन्।
उनले मुलुकमा आर्थिक र व्यापारिक कार्यहरु सुस्त रहेको र हरेक महिना विदेश अध्ययन र भ्रमणमा ठूलो रकम बाहिरिँदा विदेशी मुद्रा सञ्चितीमा दबाब परेको बताइन् ।
‘लघुवित्त र सहकारीलगायत सिंगो वित्तीय प्रणाली संकटपूर्ण अवस्थामा छ । कर प्रशासन करदाता मैत्री छैनन् । आर्थिक मन्दीका कारण महंगी उच्च छ । लोकतान्त्रिक राज्य र नागरिकप्रतिको दायित्वलाई केवल भाषण र नारामा मात्रै सिमित कहिलेसम्म गर्ने? आम नागरिकलाई राज्य अभिभावक हो भन्ने अनुभूति कहिले दिने ?,’ उनले भनिन्।