राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीसम्बन्धी अनुसन्धानको प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले राहदानीसम्बन्धी अनुसन्धान बुझाएको कार्यालय स्रोतले जनाएको छ।
यसबारे कार्यालयले अध्ययन गरिरहेको छ। प्रहरीले लामो समय अनुसन्धान गरेर केही दिन अघि बुझाएको हो।
‘दुई-तीन दिन भयो। तर यसबारे टुंगो लागिसकेको छैन,’ स्रोतले भन्यो। केही दिन अध्ययनपछि मात्रै अन्तिम निर्णय गरिने स्रोतको भनाइ छ।
अमेरिकी राहदानी भएकै बेला निष्क्रिय रहेको नेपाली नागरिकता देखाएर लामिछानेले नेपाली राहदानी पनि लिएको आरोप छ।
झूटा विवरण पेश गरी नेपाली राहदानी लिएको भन्दै उनीविरूद्ध परेको मुद्दामा अनुसन्धान भइरहेको थियो।
त्यसअघि रवि लामिछानेको नागरिकतासम्बन्धी विवादका कारण सर्वोच्चमा रिट दायर भएको थियो।
उक्त रिटमा फैसला गर्दै गत माघ १३ गते अदालतले उनको सांसद पद खारेज गरेको थियो। त्यतिबेला उनी उपप्रधान एवं गृहमन्त्री समेत थिए। त्यसपछि उनले राजीनामा दिएका थिए। उनले नागरिकता पुन: प्राप्ति गरेका थिए।
यस्तै निष्क्रिय भएको नागरिकताबाट राहदानी पनि फिर्ता गरेका थिए।