खुला प्लाष्टिकमुक्त नगर घोषणा गरेको रूपन्देहीको तिलोत्तमा नगरपालिकाले बुधबार वातावरण क्षेत्रका थप पाँच वटा घोषणा गरेको छ।
पाँच वर्षदेखि नगरपालिकामा सञ्चालित समुदायमा आधारित हरियाली प्रवर्द्धन एवं नियमित सरसफाइ अभियानको एक सयौं श्रृंखला पुगेको अवसरमा नगरपालिकाले वातावरणसँग सम्बन्धित थप पाँच वटा घोषणा गरेको हो।
तिलोत्तमामा हर्न निषेध, पशु दर्ता प्रणाली संचालन, गुट्खाजन्य पदार्थको बिक्री/वितरणमा प्रतिबन्ध, फोहोरमैलाको वर्गीकरण सुरू र वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान प्रारम्भ भएको घोषणा गरिएको हो।
नगरप्रमुख रामकृष्ण खाणले पाँच वटा घोषणालाई प्रभावकारी कार्यान्वयन गर्दै जाँदा वातावरणमैत्री नगरपालिका निर्माणमा थप टेवा पुग्ने बताए।
फागुन २५ गतेदेखि सुरू भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बुधबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले सरसफाइ अभियानमा आसपासका अन्य पालिकाहरूलाई समेत जोड्न तिलोत्तमालाई आग्रह गरे।
सरसफाइ, विकास निर्माण र अन्य सामाजिक विषयमा तिलोत्तमाले विशिष्ट पहिचान बनाएको बताउँदै पौडेलले विकासको पक्षमा सबै जनप्रतिनिधिहरू एक ठाउँमा रहेको स्पष्ट पारे।
प्रतिनिधिसभा सदस्य एवं तिलोत्तमा नगरपालिकाका निवर्तमान प्रमुख बासुदेव घिमिरेले नेपालले दीगो विकास लक्ष्यका लागि जनाएको प्रतिबद्धता पूरा गराउन हरेक पालिकाले सरसफाइ अभियान चलाउनुपर्ने बताए।
जनसहभागितामा सञ्चालन गरिएका हरेक अभियान सफल हुने विगतका अनुभवले पुष्टि गरेको उल्लेख गर्दै घिमिरेले तिलोत्तमालाई अब तरकारीमा आत्मनिर्भर बनाउँदै प्रारङ्गारिक खेतीमा जोड दिन सुझाव दिए।
बाग्मती सरसफाइ महाअभियानका संयोजक एवं पूर्वमुख्यसचिव लिलामणि पौडेलले फोहोरमैला व्यवस्थापनमा कोही पनि बाधक बन्न नहुने बताउँदै संस्कार बदल्न सकेमात्र फोहोरमैलाको दीगो व्यवस्थापन हुने बताए।
सबैले कर्तव्यनिष्ट भएर काम गर्दा हरेक अभियान सफल हुने बताउँदै फोहोरको कम उत्सर्जन, पुनः प्रयोग र प्रशोधनमा समेत ध्यान दिन आग्रह गरे।
नगर प्रमुुख रामकृष्ण खाणको अध्यक्षता, उपप्रमुख जागेश्वरी चौधरीको स्वागत र कार्यपालिका सदस्य सुरेन्द्र श्रीको संचालनमा भएको कार्यक्रममा हरियाली प्रवर्द्धन तथा नगर सरसफाइ अभियानको सुरूआत गरेको भन्दै पूर्व नगरप्रमुख बासुदेव घिमिरे र विभिन्न संघ संस्थाहरूलाई सम्मान गरिएको थियो।
बुधबार गरेका पाँच घोषणामध्ये वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान प्रमुख रहेको छ। नगर प्रमुख रामकृष्ण खाणले वातावरणमैत्री समाजको सिर्जनाद्वारा नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हकलाई सुनिश्चित गर्न वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान सुरू भएको घोषणा गरेका हुन्।
नेपाल सरकारले जारी गरेको वातावरणमैत्री स्थानीय शासन प्रारूप—२०७८ मा उल्लेखित वातावरणमैत्री स्थानीय शासनका बाँकी सूचकहरू पूरा गराउने कार्यक्रमहरू आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश गरी कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
यस्तै, सवारी साधनको हर्नका कारण ध्वनि प्रदूषण बढिरहेको भन्दै त्यसलाई नियन्त्रण गरी वातावरणमैत्री समाजको निर्माण गर्न तिलोत्तमा नगरपालिकालाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ।
यो घोषणासँगै अनावश्यक रूपमा हर्न बजाई नगरको शान्ति भंग गर्ने कार्यलाई निरूत्साहित गरिनुको साथै एम्बुलेन्स, सुरक्षाकर्मी, शववाहन, दमकललगायत आकस्मिक प्रयोजनमा गुड्ने बाहेकका सवारी साधनले हर्न प्रयोग गर्न पाउने छैनन्।
यसअघि हरेक महिनाको १ र १५ गते नियमित सरसफाइ अभियान सञ्चालन गर्दै आएको तिलोत्तमाले फोहोरमैला संकलन तथा व्यवस्थापन कार्यलाई दीगो र वैज्ञानिक बनाउन फोहोरमैलाको स्रोतमै वर्गीकरण गर्ने कार्यको सुरूआत गरेको छ।
अबका हरेक घर, व्यवसायिक प्रतिष्ठान, उद्योगधन्दा, कलकारखाना, होटल रेष्टुरेन्ट, कार्यालय लगायतले कुहिने र नकुहिने अलगअलग डष्टबिन राखी फोहोर संकलन गर्ने गाडीमा दिनुपर्ने छ।
नगरपालिकाले गुट्खा प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री/वितरणलाई पनि रोक लगाएको छ।
गुट्खा प्रकृतिका सुर्तीजन्य पदार्थको सेवनले जनस्वास्थ्यमा गम्भीर असर पार्ने भन्दै नगरबासीको स्वास्थ्य, सहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखेर नगरपालिकामा सबै प्रकारका गुट्खाजन्य पदार्थको बिक्री—वितरणमा प्रतिबन्ध लगाएको हो।
नगरमा गुट्खाजन्य पदार्थको उत्पादन, बिक्री—वितरण र ओसारपसार गरेको पाइएमा स्थानीय कानुनअनुसार दण्ड—जरिवाना गरिने नगर प्रमुख खाणले बताए।
छाडा पशुचौपायाका कारण सडक दुर्घटनाको जोखिम बढिरहेकोले त्यसको नियन्त्रणका लागि नगरपालिकाले पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ।
घर–गोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरूत्साहित गर्न र हुनसक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको नगर प्रमुख खाणले बताए।
यसको माध्यमबाट नगरबासीको घर–गोठमा पालिएका सबै पशु चौपायाको लगत अद्यावधिक गरी कुकुरपालन अनुमति पत्र तथा पशुदर्ता प्रमाणपत्र समेत अनलाइनबाटै लिन सकिने नगरपालिकाले जनाएको छ।