कार्यकाल सकिएर राष्ट्रपति विद्यादेवी भण्डारी आज शितल निवास छाड्दैछिन्।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको आज दिउँसो १ बजे शपथग्रहण सकिएलगत्तै राष्ट्रपतिको आसन पौडेललाई हस्तान्तरण गर्ने र त्यसपछि भण्डारीले शितल निवास छाड्ने तयारी छ।
तर भण्डारीको निवासको मर्मत कार्य सकिएको छैन। उनको बूढानिलकण्ठ नगरपालिका वडा नम्बर २ चपलीस्थित घर मर्मतको काम आज बिहान पनि जारी छ। व्यक्तिगत खर्चमा भण्डारीको घर मर्मत भइरहेको छ।
२०७२ को भूकम्पका कारण यो घरमा क्षति पुगेको थियो।
राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारी यही घरमा सर्ने तयारीसहित केही समयदेखि मर्मत कार्य अघि बढाइएको थियो। गत फागुन २० मै मर्मत सक्ने भनिए पनि त्यसअनुसार काम हुन नसक्दा भण्डारी आज यो घरमा सर्न नसक्ने देखिएको छ।
भण्डारी छोरीको घरमा सर्ने तयारीमा छिन्। बालुवाटारस्थित छोरीको घरमा सर्ने तयारीमा भण्डारी रहेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ। घर मर्मत सकेपछि भने भण्डारी बूढानिलकण्ठ २ मा रहेको आफ्नै घरमा सर्नेछिन्।
भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन्। त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ फागुन २९ गते उनी निर्वाचित भएकी थिइन्।
उनको ५ वर्षे कार्यकाल आइतबार सकिएको थियो।
उनले आइतबार नै नवनिर्वाचित राष्ट्रपति पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरूसँग भेटवार्ता गरेकी थिइन्।
हेर्नुहोस् निर्माणका क्रममा रहेको राष्ट्रपति भण्डारीको घर: