बिहीबार राष्ट्रपतिमा निर्वाचित भएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आभार व्यक्त गरेका छन्।
बिहीबार राति उनले एक विज्ञप्ति जारी गर्दै आफूलाई मतदान गर्ने मतदाताप्रति आभार व्यक्त गरेका हुन्।
उनले आफ्ना सबै शुभेच्छुक तथा सहयोगी मनप्रति धन्यवाद पनि व्यक्त गरेका छन्।
त्यस्तै राष्ट्रपति पदको प्रतिस्पर्धामा रहेका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको दल तथा मतदातालाई पनि हार्दिक सम्मान गर्न चाहेको उनले बताएका छन्।
हेर्नुहोस् पौडेलद्वारा जारी विज्ञप्ति-
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिमा निर्वाचित हुँदै गर्दा २००७ सालको जनक्रान्तिको आरम्भदेखि प्रजातन्त्र स्थापना तथा पुनस्थापनाका निम्ति भएका विभिन्न आन्दोलन, संघर्ष र अभियानमा ज्यान गुमाउनुभएका सबै सपूत शहिदप्रति श्रद्धासुमन अर्पण गर्दछु।
मलाई साझा उम्मेद्वारका रूपमा प्रस्तुत गर्ने र सहयोग गर्ने गठबन्धन दलहरू एवं मतदान गर्नु हुने सबै मतदाताप्रति हृदयतः आभार व्यक्त गर्दछु।
मित्रवत प्रतिस्पर्धामा रहनुभएका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, उहाँको दल तथा मतदातालाई पनि हार्दिक सम्मान गर्न चाहन्छु।
मलाई प्रतिनिधि सभा र संविधान सभामा विजयी गराई निरन्तर सेवा गर्ने अवसर दिनुभएकामा तनहुँ जिल्लावासी तथा मतदाताहरूलाई पनि हार्दिक आभारसहित कृतज्ञता ज्ञापन गर्दछु।
'राष्ट्रपति-संस्था' ले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रही निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने प्रण गर्दछु।
नेपालको राष्ट्रिय एकताको प्रवर्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन्।
राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहनेछु।
निष्पक्ष निर्वाचन सम्पन्न गराएकामा निर्वाचन आयोग, नेपाल सरकारका सम्बन्धित निकाय, सुरक्षाकर्मी तथा सम्पूर्ण पक्षमा धन्यवाद व्यक्त गर्दछु।
सबै शुभेच्छुक तथा सहयोगी मनप्रति सतत् धन्यवाद व्यक्त गर्दछु।
यो पनि पढ्नुहोस्ः ६० वर्ष लामो आरोह-अवरोहपछि मुलुकको सर्वोच्च पदमा रामचन्द्र
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/Chetana/bijayamani/ram%20chandra%20rsss.jpg)