नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस लगायत अन्य दलले आफूमाथि सद्भाव राखेको टिप्पणी गरेका छन्।
शनिबार कांग्रेसले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेपछि पत्रकारसँग कुराकानी गर्दै आफूमाथि कांग्रेससहित अन्य दलले सद्भाव राखेको बताएका छन्।
‘नेपाली कांग्रेसले मात्रै होइन। सबै पार्टीले ममाथि सद्भाव राखेका छन्। र नेपालको राजनीतिक जगतले मप्रति सद्भाव र अपार सहनुभूति राखेको मैले अनुभव गरेको छु,’ उनले भने।
यस्तै समर्थन गर्ने निर्णय गरेका आठ दल बाहेकका सांसदहरूको पनि आफूलाई समर्थन हुने उनले बताए।
‘प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभामा रहेका सबै दलका सबै साथीहरूको मलाई अपार स्नेह, सहानुभूति र सद्भाव भएको मैले पाएको छु,’ उनले भने।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीले पौडेललाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन लागेको हो।