अवैध उत्खनन् रोक्न जाँदा हत्या गरिएका धनुषाको मिथिला नगरपालिका-५ श्रीपुरका दिलीप महतोको मुद्दामा दोषी ठहर भएका तीनै जनालाई कैद र जरिवाना सुनाइएको छ।
धनुषा जिल्ला अदालतले आज मुख्य योजनाकार चुरियामाइ बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीन महतो र कामदार मुनिन्द्र महतोलाई २५-२५ वर्ष कैद र ५-५ लाख क्षतिपूर्ति तिर्न फैसला सुनाइएको छ। न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले उक्त फैसला सुनाएको हो।
त्यस्तै, हत्याका मतियार ठहर भएको जितेन्द्र महतोलाई साढे १२ वर्ष कैद र २ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति तिर्न फैसला सुनाइएको इजलास अधिकृत विष्णु भट्टराईले जानकारी दिइन्।
२०७६ साल पुस २५ मा बिहानै घर नजिकैको औरही खोलामा भइरहेको अवैध उत्खनन् रोक्न जाँदा धनुषाको मिथिला नगरपालिका- ५ श्रीपुरका २४ वर्षीय दिलिपको निर्मम हत्या भएको थियो।
गत फागुन ३ गते जिल्ला अदालतले ७ अभियुक्तमध्ये विपीन, मुनिन्द्र र जितेन्द्रलाई दोषी ठहर गरेको थियो।
क्रसर सञ्चालक विपीनका दाइ विनोद महतो, कामदारहरू सत्यनारायण महतो, शत्रुघन महतो र रोशनकुमार यादवलाई अदालतले सफाइ दिएको थियो। जिल्लाको फैसलामा चित्त नबुझेको भन्दै सरकारी वकिलको कार्यालयले उच्च अदालत जाने तयारी गरेको छ।