राष्ट्रपति निर्वाचनका लागि संघीय संसदका ३३१ सांसद र प्रदेश सभाका ५ सय ५० सांसदले मतदान गर्ने भएका छन्।
निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरले राष्ट्रपति निर्वाचनका लागि बुधबार नामावली सार्वजनिक गरेको हो।
संघीय संसदका ३३४ सांसदमध्ये चितवन-२ रिक्त रहेको छ। त्यस्तै निलम्बित सांसद टेकबहादुर गुरुङले पनि मतदान गर्न नपाउने भएका छन्। उनको नाम पनि मतदाता नामावलीमा समावेश छैन। गुरूङ भ्रष्टाचारको अभियोगमा निलम्बित छन्।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीका सांसद अरूणकुमार चौधरीको नाम पनि राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा समावेश छैन। चौधरी पक्राउ परेको सूचना संसद सचिवालयमा सुनाइएको अवस्थामा मतदाता नामावली अन्तिम गरिएका कारण उनको नाम समावेश नभएको हो। चौधरी राष्ट्रपतिबाट माफी पाएर जेल मुक्त भैसकेका छन्। फरार सूचीमा रहेका नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीको नाम भने मतदाता नामावलीमा समावेश छ।
'हामीलाई निर्वाचन आयोगले मतदाताको नाम अन्तिम गरेर सूची पठाएको हो', राष्ट्रपति निर्वाचन कार्यालयका प्रमुख महेश शर्मा पौडेलले सेतोपाटीसँग भने, 'हामीले नामावली प्रकाशन मात्र गरेका हौं।'
निर्वाचन तालिकाअनुसार मतदाता नामावली माथि भोलि (बिहीबार) सम्म दाबी विरोध गर्न पाइन्छ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी नियमावलीमा निर्वाचन आयोगले संसद सचिवालय र प्रदेश सभा सचिवालयबाट पदमा बहाल रहेका सांसदहरूको सूची मगाएर मतदाताको नामावली अन्तिम गर्ने व्यवस्था रहेको छ।