पर्यटन एवं नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपालमा चल्ने विमानले नियमित परीक्षण गर्नुपर्ने बताएका छन्।
विमानले नियमित चेकजाँच र फेर्नुपर्ने पार्टपुर्जा समयमै फेर्नुपर्ने भन्दै उनले एकछिन पनि ढिला गर्न नहुने बताए।
‘कुनै पनि प्लेनले पार्टपुर्जा फेर्नुपर्छ भन्दा दुई फ्लाइट गरौं अनि फेरौं भन्न पाउँदैन,’ उनले भने, ‘निश्चित समयमा पार्टपुर्जा फेर्नै पर्छ, सुरक्षामा सम्झौता हुँदैन।’
नेपालमा भन्दा पुरानो जहाज अमेरिकामा चलिरहेको भन्दै उनले नियमित चेकजाँच र फेर्नुपर्ने पार्टपुर्जाका विषयमा विस्तृत जानकारी आफूले मागेको उनले बताए।
‘कुन जहाज कति पटक टेकअफ भयो, कति ल्याण्ड भयो, कुन सामान कहिले फेर्नुपर्छ त्यसको डिटेल मलाई चाहियो,’ उनले भने।
नेपालमा पुराना विमान चलेका कारण दुर्घटना बढेको भन्ने आम मानिसका टिप्पणीप्रति उनले जहाज नियमित चेकजाँच र निश्चित समयमा पार्टपुर्जा परिवर्तन गर्दा सुरक्षा खतरा नहुने बताए।
अमेरिकाको उदाहरण दिँदै उनले जहाज पुरानो हुनेभन्दा पनि त्यसको नियमित चेकजाँच महत्वपूर्ण रहेको बताए।
‘जहाजको इतिहास नै अमेरिकाबाट सुरू हुन्छ। हामीले पढेकै छौं, राइट दाजुभाइका कुरा हामीले पढेकै छौं। अमेरिकाका राष्ट्रपति नै ३३ वर्ष पुरानो प्लेन चढ्दो रहेछ, ६० वर्ष पुरानो जहाज पनि अमेरिकामा उडेकै छ। जहाज पुरानो हुनेभन्दा पनि मेन्टिनेन्स कसरी गरिएको छ मुख्य कुरा त्यो हो,’ उनले भने।
नेपालमा जहाज ल्याएर नचलाई राखे पनि त्यसको अवधि पूरा भएपछि आवश्यक सामग्री फेर्नुपर्ने उनले बताए।
‘जहाज नचलाई राखे पनि त्यसको अवधि पूरा भएपछि पार्टपुर्जा फेर्नैपर्छ, निश्चित घण्टा उडेपछि पनि फेर्नुपर्छ,’ उनले भने, ‘सुरक्षामा कम्प्रमाइज गर्न पाइँदैन।’
गत माघ १ गते यती एयरलाइन्सको एटिआर ७२ जहाज दुर्घटनामा परेपछि पोखरा आउने हवाई यात्रुको सङ्ख्या ७० प्रतिशतसम्म घटेको विमान कम्पनीहरूले बताएका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार संवाददाताहरूसँग कुरा गर्दै मन्त्री किराँतीले दुर्घटनापछि बढेको त्रास हटाउन आफू पोखरा आएको बताए।
विमानस्थलमा चराका कारण समस्या देखिएको पनि उनले बताए।
‘फोहोरमैलाका कारण चराबाट खतरा रहेछ, सधैं खेल्ने, नाच्ने चराले आफ्नो ठाउँ छाडेको छैन,’ उनले भने, ‘चराको आनीबानी परिवर्तन नभएसम्म यो खतरा रहने देखिन्छ, यसको व्यवस्थापन गर्न निरन्तर छलफल गर्दैछौं।’