द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीमाथि हातपातमा संलग्न रहेका अखिल क्रान्तिकारीलाई कारबाही गर्न नेपाली कांग्रेस गोरखाले सरकारसँग माग गरेको छ।
क्याम्पस प्रमुख दुवाडीले ‘जनयुद्ध’बारे फेसबुकमा लेखेपछि अखिल क्रान्तिकारीले विज्ञप्ति जारी गर्दै क्षमायाचना गर्न चेतावनी दिएका थिए। उनीहरूले मंगलबार बिहान क्याम्पसमै पुगेर दुवाडीमाथि हातपात गरेका थिए।
कांग्रेस गोरखाका सचिव किशोरजङ्ग थापाले बुधबार विज्ञप्ति निकालेर घटनाको छानबिन गरी दोषीलाई अविलम्ब कारबाही गर्न सरकारसँग माग गरेका हुन्।
यो पनि: ‘जनयुद्ध’ बारे फेसबुकमा लेख्दा गोरखामा अखिल क्रान्तिकारीले कुटे क्याम्पस प्रमुख
‘लोकतन्त्रको सुन्दर पक्ष भनेको कुनै पनि विषयका पक्षमा वा विपक्षमा आफ्नो मत जाहेर गर्न पाउनु हो,’ विज्ञप्तिमा भनिएको छ, ‘संविधानले विचार तथा अभिव्यक्ति स्वतन्त्रता प्रदान गरेको छ। संविधानले प्रदत्त गरेको मौलिक अधिकारको प्रयोग गर्दा गरिएको अमानवीय र अपमानजनक व्यवहारले कानूनको उल्लङ्घन मात्र नभई संविधानको खिल्ली उडेको छ।’
सरकारले फागुन १ मा ‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा दिएपछि सरकारको आलोचना भएको थियो।
शैक्षिक संस्थामा अखिल क्रान्तिकारीले बाहुबलको प्रयोग गर्दै क्याम्पस प्रमुखमाथि कुटपिट र दुर्व्यवहारको कांग्रेसले भर्त्सनासमेत गरेको छ।