नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीले गोरखाको लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीमाथि कुटपिट र दुर्व्यवहार गरेका छन्।
दुवाडीले सोमबार फेसबुकमा ‘कथित जनयुद्ध शब्दलाई वैधानिक दृढता गर्ने वर्तमान सरकार मुर्दावाद’ भनेर स्टाटस पोस्ट गरेका थिए।
‘जनयुद्ध दिवस’ मा सरकारले देशैभर सोमबार (फागुन १ गते) सार्वजनिक बिदा दिएको थियो। सरकारले ‘जनयुद्ध दिवस’ मा बिदा दिएपछि आलोचना भएको थियो।
क्याम्पस प्रमुख दुवाडीले स्टाटस राखेपछि अखिल क्रान्तिकारीका द्रव्यशाह क्याम्पस इकाइ अध्यक्ष अनिष अर्यालले विज्ञप्ति जारी गर्दै ‘उक्त अभिव्यक्ति क्षमायाचना गर्दै १२ घण्टाभित्र सार्वजनिक रूपमा माफी माग्न’ भनेका थिए।
हेर्नुस् विज्ञप्ति:
क्याम्पस प्रमुखले आफूहरूले दिएको समयभित्र माफी नमागेको भन्दै आज बिहान अखिल क्रान्तिकारी गोरखा कमिटीमा आवद्धहरू क्याम्पस प्रमुख कार्यकक्षमा पुगेर टेबल तोडफोड र दुवाडीमाथि कुटपिट गरेका हुन्।
क्याम्पस प्रमुख दुवाडीमाथि क्रान्तिकारीले कुटपिट र दुर्व्यवहार गरेपछि यो घटनालाई लिएर गोरखामा विरोध भएको छ। स्वतन्त्र विद्यार्थी युनियनका सभापति प्रविन बस्नेतले क्याम्पस सञ्चालन भइरहेको अवस्थामा सोमबार बिहान ८:१५ बजे क्याम्पस प्रमुख दुवाडीमाथि भएको आक्रमणको विज्ञप्ति निकालेर विरोध गरेका छन्।
हेर्नुस् विज्ञप्ति:
अखिल क्रान्तिकारी इकाइ अध्यक्षसमेत रहेका गोरखा नगरपालिकाका मेयर कृष्ण रानाका स्वकीय सचिव अनिष अर्याल, जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापाका स्वकीय सचिव राजन आले मगरलगायत १०/१५ जनाको समूहले बा.प्र.३, ०२-०१४ ब ६७१३ नम्बरको सरकारी मोटरसाइकल प्रयोग गरी क्याम्पस प्रमुखमाथि हातपात गरेको विज्ञप्तिमा उल्लेख छ।
‘यस्ता अराजक, आपराधिक, गुण्डागर्दी गर्ने व्यक्तिहरूलाई कानूनबमोजिम हदैसम्मको कारबाही गर्न प्रशासनसँग अपिल गर्दछौं,’ स्ववियु सभापतिले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यसैबीच नेविसंघ क्याम्पस इकाइ सचिव अविन श्रेष्ठले पनि विज्ञप्ति निकालेर क्याम्पस प्रमुख दुवाडीमाथि हातपात गर्नेलाई कारबाहीको माग गरेका छन्। दोषीमाथि प्रशासनले कारबाही नगरे क्याम्पसको पठनपाठन बन्द गर्ने चेतावनी नेविसंघको छ।
हेर्नुस् विज्ञप्ति:
क्याम्पस प्रमुख दुवाडीमाथि हातपातको विरोधमा पब्लिक क्याम्पस प्राध्यापक संघ र कर्मचारी संघले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको विरोधमा आज पठनपाठन बन्द गराएका थिए। क्याम्पसको शैक्षिक वातावरण र प्राध्यापक तथा कर्मचारीको मनोबल गिराउने गरी घटना भएकोले सुरक्षामासमेत चुनौती थपिएको उनीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
हेर्नुस् विज्ञप्ति:
क्याम्पस प्रमुख दुवाडीले आफू द्वन्द्वपीडितसमेत रहेकोले ‘जनयुद्धमा बिदा’ दिने सरकारको निर्णयबारे असन्तुष्टि राखेको बताउँदै आएका छन्। घटनामा संलग्नमाथि कारबाही गर्न उनले माग गरेका छन् भने यसबारे प्रहरीलाई पनि जानकारी गराइएको उनको भनाइ छ।