नेपाली कांग्रेसका सांसद धनराज गुरूङले देश गम्भीर आर्थिक संकटतर्फ उन्मुख रहेको बताएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेताहरू ठूला सपना मात्रै बाँड्ने काममा लागि परेको भन्दै उनले अझै नेताहरु नसच्चिने हो भने मुलुकले झनै दुःख पाउने बताएका हुन्।
उनले आँखा अघि नै व्यवसायीहरुले आत्मदाह र आत्महत्या गर्दा पनि सरकार र नेताहरु आफ्नै स्वार्थमा लागिपरेको बताए ।
उनले जनताको स्वार्थ भन्दा मन्त्रीहरु पुरानो गाडी परिवर्तन गर्नुहोस् भन्नेतर्फ लागिपरेको आरोप लगाए । उनले देश गफले मात्रै चल्न नसक्ने भन्दै संसद जनताप्रति उत्तरदायी हुनुपर्ने बताए । उनले संसद नीति निर्माण भन्दा पनि घोचपेचमा नै सकिँदै गइरहेको बताए ।
उनले भने, ‘मुलुक भयानक आर्थिक शंकटतर्फ उन्मुख छ । हामीले ठूला सपना मात्रै बाँडिरहेका छौँ । त्यो बाँड्दै गर्दापनि हाम्रै आँखा अघि व्यवसायीहरु धरापमा परेको देखिरहेका छौँ, आत्महत्या त धेरैले गरिसकेका छन् । आत्मदाह आफ्नै अघि गरिरहेका छन्, यसले पनि छुँदैन कि के हो, दिनदहाडै आत्मदाह भएको छ ।’
सांसद गुरुङले मन्त्री र प्रधानमन्त्री पदकै लागि नेताहरु पटक पटक लडिरहेको बताए । उनले यस पटकको प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित भएपनि नयाँ प्रतिनिधि सभा सदस्यहरु पनि पुरानै नेताहरु सरह सत्तामा लिप्त भएको बताए ।
उनले भने, ‘व्यवसायीमा कोलाहाल मच्चिरहेको छ, तैपनि सरकारमा बस्ने मन्त्रीहरु पुरानो गाडी भयो नयाँ गाडी पाउँ भनेर निवेदन गरिरहेको छ । हामी यस्तो बिडम्वना भोगिरहेका छौँ । सपना बाँडेर, गफ गरेर मात्रै हुँदैन, संसद संसद नै हो, सार्वभौम जनताको सत्ता हो, यसमै घोचपेचका मात्रै कुरा हुन्छ । हामी नेताहरु गफ मात्रै गरिरहन्छौँ, काम गर्दैनौँ । देश अधोगतितिर उन्मुख छ।’