स्वतन्त्र सांसद प्रभु साहले अहिले सत्तामा उपप्रधानमन्त्री धेरै भएको भन्दै आलोचना गरेका छन्।
शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै धेरै उपप्रधानमन्त्री किन बनाइयो भनेर प्रश्न गरेका छन्।
‘अहिले बनेका उपप्रधानमन्त्रीज्यूहरू यति जरूरी थियो नेपालमा ? के आवश्यकताकै कोणमा यति उपप्रधानमन्त्री बनेको हो? उपप्रधानमन्त्रीको झुन्डले देशमा सुशासन ल्याउँछ? के नेपाली जनतालाई उत्साही बनाउँछ?,’ उनले प्रश्न गरेका छन्।
त्यस्तै उपप्रधानमन्त्री चाहिएकै भएपनि मन्त्रालयसम्मत नभएको पनि बताएका छन्। उपप्रधानमन्त्री बनाएपनि परराष्ट्र मन्त्री, रक्षा मन्त्री जस्ता मन्त्रालयलाई दिनुपर्ने उनको भनाइ थियो।
यस्ता पदहरू आवश्यकताको आधारमा नभई कुनै व्यक्तिलाई खुसी बनाउनको लागि सिर्जना भइरहेको बताएका छन्।
‘हामी आवश्यकताको आधारमा पद सृष्टी गर्छौं कि व्यक्तिलाई खुशी बनाउन पद सृष्टी गर्छौं। केही लामो समयदेखि हामी भागबन्डाको राजनीति हेरिरहेका छौं। यो भागबन्डाको राजनीतिले देशलाई सुशासनको दिशामा लान्छ? भागबन्डाको राजनीतिले व्यक्तिलाई खुसी बनाउने राजनीतिले के देशलाई समृद्धिको दिशामा लान्छ?,’ उनले भनेका छन्।
अहिले चार जना उपप्रधानमन्त्री छन्। विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री छन्।