उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राज्यले जनतालाई दिने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा सरकारले कसैसँग सम्झौता नगर्ने बताएका छन्।
शुक्रबार काठमाडौंका सडक अनुगमन गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले कसैको दबाब र प्रभावमा नपरी जनताका समस्या समाधान गर्ने काममा लाग्ने बताए।
प्रधानमन्त्री पुष्पकमल दाहाललका घरबेटीले धेरै सडकहरुको बिचिल्ली बनाएका छन्, उहाँलाई कारबाही गर्न सक्नुहुन्छ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले प्रधानमन्त्रीले नराम्रो गर्ने कोहीलाई कारबाही गर्नसक्ने निर्देशन दिएको बताए।
उनले प्रधानमन्त्रीको निर्देशन नै आइसकेकाले प्रधानमन्त्रलाई उक्त कुरामा जोडेर नहेर्न आग्रह गरे। उनले सडकमा समस्या देखिएपछि भाग्ने नभइ सरकारले र सम्बन्धित निकायले पूरा गर्नुपर्ने बताए। उनले जनतालाई भत्किएको र खाल्डो परेको सडक दिने छुट सरकारलाई अब नरहेको बताए।
‘म कोही घरबेटी, मित्र, कोही दाजुभाइसँग सम्बन्धित भएर काम गर्दिनँ। निरपेक्ष ढंगले काम गर्छुु। आवश्यकतालाई जो कोहीलाई पनि कारबाही गर्नुस् भन्नुभएको छ। त्यो प्रधानमन्त्रीको निर्देशन छ, त्यससँग प्रधानमन्त्रीलाई नजोडि दिनुहोला’, उनले भने, ‘राज्यले जनतालाई दिनुपर्ने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा हामी कसैसँग पनि सम्झौता गर्दैनौं।’
मन्त्री श्रेष्ठले सरकारले देशभरका सडकलाई चुस्त बनाउने र फुटपाथहरु पनि पैदलयात्रुमैत्री बनाउने अभियानमा लागिसकेको बताए। उनले यस किसिमका समस्या समाधान गर्न तीन तहकै सरकारले मिलेर काम गर्नुपर्ने बताए। उनले सडक कम भन्दा कम खन्न, सडक खन्दा निश्चित जानकारी गराउनुपर्ने र सडक भत्काइएका ठाउँमा तत्काल मर्मसभ्म्भार हुनुपर्ने बताए।
‘देशभरकै सडकलाई दुरुस्त बनाउने, राम्रोसँग गाडी चललाउने बनाउने, फुटपाथ पनि पैदलयात्रुमैत्री बनाउने अभियानमा लागेका छौँ। हामीले कति खाल्डोहरु छन् भनेर नियालीरहेका छौँ। राज्यको दायित्व सबै स्थानीय सरकारदेखि सबै सरकार मिलेर एकीकृत ढंगले काम गर्नुछ’, उनले भने, ‘सडकमा खानेपानी, ढल, विद्युत प्राधिकरण, दूर सञ्चारको कामहरु छ, एकीकृत ढंगले अघि बढ्नुपर्छ, सडक कम खनियोस्, खनिएको ठाउँमा सडकका निश्चित जानकारी बिना खन्ने काम नहोस्। खनिएको ठाउँमा पुनःस्थापित गर्ने काम तत्काल होस् भनेर हामीले बेठक गरेका छौँ। हामी अहिलेका सबै मिलेर काम गरिरहेका छौँ। राजधानीमा सडकको यो अवस्था अनुपयुक्त छ। सुशासन, यातायात व्यवस्था, भौतिक पार्क, पूर्वाधार आयोजनालाई व्यवस्थित र कार्यान्वयन गर्ने योजना बनाउँदै छन्।’
उपप्रधानमन्त्री श्रेष्ठले देशको संघीय राजधानीमा सडडको यस्तो दुरावस्था हुनु राम्रो नभएको बताए। उनले सुशासन, यातायात व्यवस्था, भौतिक पार्क, पूर्वाधार आयोजनालाई व्यवस्थित र कार्यान्वयन गर्ने योजना बनाइरहेको पनि बताए।