पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको शालिक २०६२/०६३ को जनआन्दोलनमा फोडियो। आन्दोलनकारीले राजतन्त्रविरूद्ध नारा लगाउँदै शालिक फोडे। उक्त स्थानमा शहिद लखन थापाको शालिक राखियो। आन्दोलनकारीले चोकको नाम नै परिवर्तन गरेर लखन चोक राखे।
पोखरा–काठमाडौं सडक निर्माणपश्चात् तत्कालीन राजा महेन्द्रले सडकको नाम नै पृथ्वी राजमार्ग राखेका थिए। त्यसको पोखरातर्फको अन्तिम बिन्दुमा पृथ्वीनारायण शाहको शालिक राख्न लगाएर चोकको नाम नै पृथ्वीचोक हुन पुगेको थियो।
जनआन्दोलनमा पृथ्वीचोकबाट बढारिएको पृथ्वीनारायण शाहलाई फेरि पुनर्स्थापित गराउन राप्रपाले माग गरेको छ।
राप्रपाबाट गण्डकी प्रदेशको मन्त्री बनेका पञ्चराम गुरूङले फेरि पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै शालिक राख्न माग गरेका हुन्।
राप्रपाले आयोजना गरेको राष्ट्रिय एकता दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘पृथ्वीचोकमा राखिएको लखन थापाको शालिक उच्च सम्मानका साथ बाजागाजा पुष्पवृष्टि गर्दै अन्यत्र लैजाऊँ, पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै शालिक राखौं।’
मन्त्री गुरूङले राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा दिएकोमा धन्यवाद दिँदै संविधानमै अपरिवर्तनीय धाराका रूपमा यस दिवस राख्नुपर्ने बताए।
पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको शालिक पोखरा महानगरले मेथलाङमा लगेर राखेको छ। उक्त शालिकमा पुगेर राप्रपाले बुधबार बिहानै माल्यार्पण गरेको थियो।
पोखरा महानगरले सहरको चोकमा ठूला–ठूला आइल्याण्ड भएकाले सवारी व्यवस्थापनमा कठिनाइ भएको भन्दै भत्काएको थियो।
पोखराका अन्य चोकमा रहेका शालिक पनि मेथलाङ लगिएको छ। पृथ्वीचोकमा राखिएको लखन थापाको शालिक भने मगर समुदायको विराधका कारण अन्यत्र लगिएको छैन।
राप्रपा कार्यकर्ताले पृथ्वीचोकको लखन थापाको शालिकसँगै पृथ्वीनारायण शाहको तस्बिर फ्रेममा राखेर स्ट्याण्डमा ठड्याएका छन्।
पृथ्वीनारायण शाहको शालिक पुनस्थार्पना गर्न माग गर्दै स्ट्याण्डमा पृथ्वीनारायण शाहको प्रतिकात्मक तस्बिर राखिएको राप्रपा कास्कीका प्रवक्ता अरूण गिरीले बताए।
शहिद लखन थापाको शालिकसँगै पृथ्वीनारायण शाहको तस्बिर राखेर उनीहरूले माल्यार्पण समेत गरेका थिए।
सो अवसरमा बोल्दै राप्रपा कास्कीका अध्यक्ष नारायण गुरूङले सरकारले सार्वजनिक बिदा दिएर पृथ्वी जयन्ती मनाउन थालेको भन्दै खुसी व्यक्त गरे।
‘सबभन्दा पहिला हामी नेपाली हो, राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्मान र कदर गर्नुपर्छ,’ उनले भने, ‘फेरि सबै मिलेर पृथ्वीजयन्ती मनाउन पाउँदा खुसी लागेको छ, यो राप्रपाको मात्र नभएर सबै नेपालीको जित हो।’