प्रदेश १ सरकारको नवगठित सरकारले मन्त्रालय संख्या घटाएर ९ वटा बनाउने निर्णय गरेको छ।
शपथ ग्रहणपछि विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको पहिलो बैठकले १३ वटा मन्त्रालयको संख्या घटाएर ९ वटा बनाउने निर्णय गरेको हो।
बैठकले प्रशासनिक सुधार गर्ने, सार्वजनिक खर्च कटौती गरी मितव्ययिता कायम गर्ने र शीतलहरबाट जनतालाई जोगाउन पूर्व तयारी गर्ने निर्णय गरेको छ।
यस्तै सेवा प्रवाह सुधार ल्याउन प्रमुख सचिवको नेतृत्व २१ दिनभित्र प्रतिवेदन बुझाउने गरी सुधार समिति गठन गर्ने, प्रदेशको मन्त्रालयको संरचना घटाउने र नौ वटा बनाउने लगायतको निर्णय गरेको हो।
मन्त्रालय र मन्त्रीहरू धेरै भएको जनगुनासोलाई विचार गरेर मन्त्रालयको संख्यालाई घटाएर नौ वटामा कायम गर्न आवश्यक प्रक्रिया सुरू गर्ने निर्णय गरिएको मन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए।
यहाँ सोमबार हिक्मत कार्कीले शपथ ग्रहण गरेका हुन्। उनीसहित तीन जना मन्त्रीहरूले पनि शपथ लिएका थिए। मुख्यमन्त्री कार्कीसहित नेकपा (एमाले) का तिलकुमार मेयाङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बूले मन्त्रीको शपथ लिएका थिए।