लुम्बिनी प्रदेश सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनियताको शपथ लिएका छन्।
अरू प्रदेशमा जेष्ठ सदस्यले सम्बन्धित प्रदेश प्रमुखबाट सपथ ग्रहण गरेपछि अरू बाँकी सदस्यलाई शपथ ग्रहण गराउने गरे पनि लुम्बिनी प्रदेशमा सबै सांसदलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराएका हुन्।
प्रदेशसभा नियमावली २०७९ को ४ को अनुसूची १ मा उल्लेख भएको ढाँचा अनुसार सबै सदस्यलाई प्रदेश प्रमुख शेरचनले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्।
अघिल्लो प्रदेशसभाको कार्यकालमा तत्कालीन प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा बनेको समितिले बनाएको नियमावलीमा प्रदेशसभा र प्रदेश प्रमुखको समन्वयमा सबै प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले नै पद तथा गोपनियताको शपथ ग्रहण गराउने उल्लेख गरिएको छ।
त्यही नियमावली अनुसार प्रदेश प्रमुख शेरचनले सपथ ग्रहण गराएको प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले जानकारी दिए।
लुम्बिनी प्रदेशमा प्रत्यक्षका ५२ र समानुपातिकका ३५ गरी ८७ सदस्य छन्।
लुम्बिनीमा पहिलो दल बनेको एमालेबाट २९ सांसद छन् भने दोस्रो ठूलो दल नेपाली कांग्रेसका २७ सांसद छन्। माओवादी केन्द्रका ९, जनता समाजवादी पार्टीका ३, राप्रपा ४, नागरिक उन्मुक्तिका ४ र जनमत पार्टीका ३ तथा स्वतन्त्र ३ जना सांसद छन्।
प्रत्यक्षमा शुन्य बनेका नेकपा एकीकृत समाजवादी र जनमोर्चासँग समानुपातिक तर्फका एक-एक सांसद छन्।
पहिलो अधिवेशन सोमबार हुँदै
आइतबार प्रदेशसभा सदस्यहरुको सपथग्रहण भएसँगै लुम्बिनी प्रदेशसभाको अधिवेशन पुस १८ गते (सोमबार) हुँदैछ।
प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम सोमबार दिउँसो १ बजे प्रदेशसभा अधिवेशन आह्वान गरेका छन्।
प्रदेश सभाका सदस्यलाई प्रदेश प्रमुख शेरचनले सपथ ग्रहण गराइसकेकाले सभाको बैठक भने जेष्ठ सदस्यका हैसियतले गुल्मीबाट निर्वाचित डिल्लीराज भुसालले गर्नेछन्।
गुल्मी क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भुसाल प्रदेशसभामा सबैभन्दा जेठा सदस्य हुन्। निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार भुसालको जन्ममिति २०१० साल जेठ ७ गते उल्लेख छ।