नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार सरकारी निवास बालुवाटार छाड्ने भएका छन्।
निवर्तमान प्रधानमन्त्री देउवाले घर भाडामा लिएर धुम्बाराहीमा सर्न लागेका हुन्।
उनको बूढानिलकण्ठस्थित घर मर्मत तथा कोठा थपको काम भइरहेको छ।
अस्थायी रूपमा केही महिना बस्नका लागि देउवाले आइतबारदेखि नै घर खोजिरहेका थिए।
देउवाको सचिवालय स्रोतले दिएको जानकारीअनुसार सुरूमा बूढानिलकण्ठको घर वरपर नै भाडामा घर लिन खोजिएको थियो तर नपाइएपछि धुम्बाराहीमा बस्ने निधो भएको छ।
‘उहाँ बूढानिलकण्ठको घर मर्मत नसकुन्जेल धुम्बाराहीमै बस्नुहुन्छ,’ उक्त स्रोतले भन्यो, ‘बुधबार बिहान ९ बजेपछि बालुवाटारबाट धुम्बाराही सर्ने कार्यक्रम छ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए। देउवाले सरकारी निवास बुधबार मात्रै छाड्ने भएकोले त्यसपछि मात्रै प्रचण्ड त्यहाँ सर्नेछन्।