नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले गोरखामा स्टेचर हस्तान्तरण गरेका छन्।
आइतबार जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापा मगरलाई नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका बजगाईं र कांग्रेस गोरखाका सचिव किशोरजङ्ग थापाले संयुक्त रूपमा स्टेचर हस्तान्तरण गरेका हुन्।
बजगाईं गोरखा १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। निर्वाचन क्षेत्र नम्बर १ मा ५६ वटा वडा छ। ती वडालाई एक-एक थान स्टेचर बजगाईंले हस्तान्तरण गरेका हुन्।
उनले बिरामी बोक्न प्रयोग हुने स्टेचर उपलब्ध गराएका हुन्। बजगाईं निर्वाचित गोरखा १ का अधिकांश भूगोलमा सडक पहुँच छैन। उनले चुनाव जितेपछि भोजभतेर गर्नुभन्दा जनतालाई आवश्यक पर्ने सामग्री हस्तान्तरण गरिएको जानकारी दिए।
त्यहाँका बिरामीलाई उपचार गर्न स्वास्थ्य संस्थासम्म लैजान सजिलो होस् भनेर आफूले स्टेचर सहयोग गरेको बजगाईंले जानकारी दिए।
साथै बजगाईंले मतदाता धन्यवाद दौड घोषणा गरेका छन्। उनले उत्तरी गोरखामा हुने बिरामी तथा घाइतेको हेलिकप्टरबाट उद्धारका लागि पनि आफूले थप सहयोग र समन्वय गर्ने बताएका छन्।
बजगाईंले उत्तरी गोरखाका बिरामीलाई हेलिकप्टरबाट उद्धार गर्न लामो समयदेखि समन्वयको काम गर्दै आएका छन्। कार्यक्रममा बोल्दै जिसस प्रमुख थापाले जनताका पीर मर्का बुझेर स्टेचर सहयोग गरेकोमा सांसद बजगाईंलाई धन्यवाद दिएका थिए।