नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधि सभामा समानुपातिकतर्फ १४ जना सांसद पाएको छ। आफूले पाएको १४ सिटमा माओवादीले सांसदहरू पनि सिफारिस गरिसकेको छ।
माओवादीले समानुपातिकमा सिफारिस गरेका १४ मध्ये कोही माओवादी आन्दोलनका योजनाकार छन् भने कोही माओवादी आन्दोलनबारे कुनै साइनो नभएकाहरू पनि छन्।
माओवादी केन्द्रले समानुपातिकमा छानेका १४ जना सांसदको पृष्ठभूमि हामीले केलाएका छौं।
१. हितराज पाण्डे
नेकपा माओवादी केन्द्रका सचिव हितराज पाण्डे दोश्रो पटक सांसद बनेका छन्। यसअघि उनी २०७० मा गोर्खा क्षेत्र नं २बाट निर्वाचित भएका थिए। उनी एक पटक मन्त्री समेत भएका छन्। माओवादी जनयुद्ध सुरु गर्ने केन्द्रीय नेताहरुको टीममा पाण्डेपनि सदस्य थिए। उनका एक छोरा जनयुद्धमा सहिद भएका छन्। उनको सिंगो परिवार माओवादी आन्दोलनमा लागेको थियो। पाण्डेकी छोरी बन्दना पाण्डे पालुङटार नगरपालिकाकी उपमेयर हुन्। पाण्डे प्रचण्डका नजिकका विश्वास पात्र समेत हुन्।
२. दुर्गा राई
भोजपुरकी दुर्गा राई पञ्चायतकादेखि नै राजनीतिमा सक्रिय भएकी हुन्। उनी २०३८ सालमा अनेरास्ववियु छैटौंको भोजपुर जिल्ला समिति कोषाध्यक्ष भएकी थिइन्। उनी २०६४ र २०७४ मा समानुपातिक सूचीमा परे पनि सांसद बन्न पाएकी थिइनन्। नेकपा माओवादी विभाजनका बेलामा मोहन वैद्यको नेतृत्वमा पार्टी छोडेकी राई २०७३ मा रामबहादुर थापा, पम्फा भुसाल लगातयसँगै मूल पार्टीमा फर्किएकी हुन्। उनी माओवादी उपमहासचिव पम्फा भुसाल निकट हुन्।
३. मीना तामाङ
मीना तामाङ २०५२ मा भूमिगत भएकी हुन्। उनले तत्कालीन काभ्रेपलाञ्चोक क्षेत्र नं ३ बाट २०६४ र २०७० मा चुनाव हारेकी हुन्। उनी पार्टीको केन्द्रीय सदस्य हुन्। २०४८ सालदेखि मसालबाट राजनीति सुरू गरेकी उनी २०५१ बाट माओवादीकी पूर्णकालीन सदस्य भएकी हुन्। उनका श्रीमान् बुद्धिबहादुर तामाङ जनयुद्धमा सहिद भएका हुन्।
४. छिरिङ ल्ह्यामु लामा तामाङ
जुम्लाकी छिरिङ ल्ह्यामु लामा तामाङ २०७० मा माओवादी बनेकी हुन्। त्योभन्दा पहिला उनी समाज सेवामा सक्रिय थिइन्। उनी माओवादीको महिला संगठनको प्रदेश सदस्य तथा चन्दननाथ नगरपालिकाको नगर इन्चार्जसमेत हुन्। ‘मुगुम जनजाति’बाट पहिलो सांसद बन्ने अवसर उनले पाएकी छन्।
५. रणेन्द्र बराली
रणेन्द्र बराली माओवादीका केन्द्रीय सदस्य हुन्। उनी जनमोर्चासँगको एकता प्रक्रियाबाट माओवादी बनेका हुन्। दलित आन्दोलनका अगुवा बराली पुराना कम्युनिष्ट नेता हुन्। स्वच्छ र इमान्दार छवि भएका मानिने बरालीले पार्टीमा कुनै अवसर पाएका थिएनन्। उनी दलित मुक्ति मोर्चाको संरक्षक हुन्। नेपाल दलित साहित्य तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्षसमेत रहेका बराली २०२५ सालदेखि कम्युनिष्ट आन्दोलनमा छन्।
६. उर्मिला माझी पौडेल
माओवादीबाट समानुपातिक सांसद बनेकी उर्मिला माझी पौडेल १५ वर्षदेखि माओवादी आन्दोलनमा लागेकी हुन्। २०६० सालमा श्रीमान गुमाएकी उर्मिलाले शान्ति प्रक्रियापछि माओवादीनिकट पत्रकार सन्तोष पौडेलसँग अन्तरजातीय बिहे गरेकी हुन्। काभ्रेपलाञ्चोककी माझीले लमजुङका पौडेलसँग बिहे गरेकी हुन्। पौडेल माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टरका महासचिव छन्। २०७० को बन्दसूचीमा समेत उर्मिला परेकी थिइन्। अहिले उनी माझी राष्ट्रिय मुक्ति मोर्चाको महासचिव छन्।
७. नारायणी शर्मा
२०५२ सालमा जनयुद्ध सुरू गर्दा रूकुमको चौकीमा भएको पहिलो आक्रमणमा नारायणी शर्मा सहभागी थिइन्। उनी माओवादी केन्द्रीय सदस्य हुन्। शर्मा २०७० मा दाङ क्षेत्र नं १ बाट पराजित भएकी हुन्। उनले अहिलेसम्म कुनै भूमिका पाएकी थिइनन्। नारायणी शर्मा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माकी बहिनी हुन्।
८. ज्ञानु बस्नेत सुवेदी
ज्ञानु २०४६ सालपछि कम्युनिष्ट आन्दोलनमा सहभागी छन्। २०५१ मा अखिल क्रान्तीकारी जिल्ला सदस्य भएकी बस्नेत २०५२ सालदेखि भूमिगत भएकी हुन्। २०६३ सलामा धादिङ जिल्ला सेक्रेटरी बनेकी सुवेदी अहिले माओवादी केन्द्रीय सदस्य छन्। उनी माओवादीका उपमहासचिव शक्ति बस्नेतकी बहिनी हुन्।
९. बिमला सुवेदी
बिमला सुवेदी माओवादीकी केन्द्रीय सदस्य हुन्। उनी माओवादी जनयुद्धमा भूमिगतसमेत भएकी थिइन्। २०६४ मा नुवाकोटबाट निर्वाचित सुवेदी यस पटक समानुपातिक तर्फको सांसद बनेकी हुन्।
१०. रूपा सोसी चौधरी
रूपा सोसी चौधरी माओवादीकी केन्द्रीय सदस्य हुन्। २०५७ सालदेखि माओवादीको पूर्णकालीन कार्यकर्ता बनेकी चौधरी जनमुक्ति सेनामा समेत थिइन्। सामान्य पारिवारिक पृष्ठभूमिकी चौधरी सहिद परिवारकी समेत हुन्। उनी २०६४ को निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट निर्वाचित भएकी थिइन्।
११. सुशीला श्रीपाली ठकुरी
२०४६ सालदेखि कम्युनिष्ट आन्दोलनमा लागेकी सुशीला श्रीपाली ठकुरी २०५४ सालसम्म भारतमै रहेर माओवादी आन्दोलनमा सहभागी भएकी थिइन्। उनी २०५४ भदौदेखि नेपालमै रहेर माओवादी आन्दोलनमा लागेकी हुन्। उनी अहिले माओवादी केन्द्रीय सदस्य छन्। उनका श्रीमान डम्मरसिंह ठकुरी सेना समायोजनमार्फत् नेपाली सेनामा छन्। २०६८ मा उनी दलित आयोगको सदस्य भएकी थिइन्।
१२. मीना यादव
मीना यादव राजनीतिक पृष्ठभूमिबाट भन्दा पनि पारिवारिक पृष्ठभूमिको सहयोगले सांसद बनेकी हुन्। उनी माओवादी केन्द्रका नेता शिवपुजन रायकी श्रीमती हुन्। २०६४ मा तत्कालीन सर्लाही क्षेत्र नं ६ बाट मधेशी जनअधिकार फोरमको तर्फबाट निर्वाचन जितेका राय रातो पासपोर्ट प्रकरणमा दोषी ठहरिएका व्यक्ति हुन्। विभिन्न पार्टी चहार्दै २०७४ मा माओवादी केन्द्रबाट सर्लाही क्षेत्र नं ४ को उमेदवार बने पनि उनको उम्मेदवारी खारेज भएको थियो। आफू सांसद बन्न नमिल्ने भएपछि रायले आफ्नी श्रीमतीलाई पठाएका हुन्। रायकी छोरी मधुमाला कुमारी यादव माओवादीबाट सर्लाही क्षेत्र नं ४ मा बागी उमेदवार बनेकी थिइन्।
१३. उमरावती देवी यादव
उमरावती देवी यादव नेपाल समाजवादी पार्टीको तर्फबाट सांसद बनेकी हुन्। उनी २०६३ को मधेस आन्दोलनदेखि रजनीतिमा सक्रिय भएकी हुन्। उनको राजनीतिक पृष्ठभूमि सद्भावना पार्टी हो। उनका श्रीमान् रमेश यादव नेपाल समाजवादी पार्टीका महासचिव हुन्। रमेश यादव राष्ट्रिय सभाका पूर्वसांसद हुन्।
१४. कल्पना मिया
कल्पना मिया माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तीकारीकी उपाध्यक्ष हुन्। अखिल क्रान्तीकारीको क्याम्पस इकाई कमिटीदेखि नै संगठनमा काम गरेकी मिया यसपटक सांसद बनेकी हुन्।