भारतीय राज्य गुजरातको विधान सभामा सत्तारूढ भारतीय जनता पार्टीलाई लगातार छैटौं पटक चुनाव जितेको छ।
बिहीबार भएको मतगणना भाजपाले भारी बहुमत ल्याउने देखिएको छ। १८२ सदस्यीय विधान सभामा उसले १३९ सिटमा जित हात पारिसकेको छ भने बाँकी १७ सिटमा अग्रता लिएको छ।
यो जितसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहप्रदेशमा भाजपाले सन् १९९५ देखिको आफ्नो पकड कायम राखेको छ।
यो प्रदेशमा १९९५ यताका सबै चुनावमा भाजपाले बहुमत ल्याउँदै आएको छ। तर यसपालि उसलाई यति धेरै बहुमत आएको छ कि १८२ मध्ये १५६ सिट नै उसले जित्ने भएको छ।
यो पनि पढ्नुस्:
बिबिसी हिन्दीका अनुसार यसअघि सन् १९८५ मा भारतीय राष्ट्रिय कंग्रेसले गुजरातमा अत्यधिक बहुमतको रेकर्ड बनाएको थियो। त्यतिबेला कंग्रेसले १४९ सिटमा जित हात पारेको थियो। यसपालि भाजपाले कंग्रेसको उक्त रेकर्ड तोडिदिने भएको छ।
गुजरातमा भाजपाले ऐतिहासिक जित निकाल्दा कंग्रेस भने पाँच वर्षभन्दा यसपालि झन् खुम्चिएको छ। अहिलेसम्म कंग्रेसले १४ सिटमा जित हात पारेको छ भने ३ सिटमा अग्रता लिइरहेको छ।
आम आद्मी पार्टीले पाँच सिट जितेको छ भने अन्य उम्मेदवारले विधान सभाका ४ सिटमा जित हासिल गरेका छन्।
भाजपाको यो ऐतिहासिक जितका लागि प्रधानमन्त्री मोदीले गुजरातका नागरिकलाई धन्यवाद दिएका छन्।