नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निर्वाचनमा पार्टीको लोकप्रिय मत घटेको विषयले कांग्रेसको साख गिरेको बताएका छन्।
विराटनगरमा मंगलबार कांग्रेस नेता गुरूराज घिमिरेले लेखेको ‘बाटो विराएको राजनीति’ नामक विचार संग्रह विमोचन गर्दै कोइरालाले पपुलर मत घट्नुको कारणबारे गम्भीर हुनुपर्ने बताएका हुन्।
‘यसपटक २३ बाट ५७ सिटमा त कांग्रेस पुग्यो तर पपुलर मत ७ प्रतिशत किन कम भयो?’, कोइरालाले भने, ‘यसबारे गम्भीर हुन जरूरी छ। कांग्रेसको साख गिरेको हो कि भन्नेछ। यसलाई सच्याएर अघि बढनुपर्छ।’
कांग्रेस एक ढिक्का भएर अघि बढ्ने बताउँदै नेता कोइरालाले कांग्रेसभित्रको विषयलाई लिएर चिन्तित नहुन उनले आग्रह गरे।
‘तपाईंहरु ढुक्क हुनुहोस्, कांग्रेस एक ढिक्का भएर अघि बढनेछ। र, सरकार पनि गठबन्धनकै हुनेछ’, पार्टीले उम्मेदवारी चयन गर्दा प्राइमरी इलेक्सन गर्नसके सबैभन्दा राम्रो हुने भन्दै उनले कांग्रेसले कृयाशील सद्स्यता शतप्रतिशत खुला गर्नुपर्ने बताए।