सेतोपाटी, अनलाइनखबर, नयाँ पत्रिका लगायतको मास्टहेडको दुरूपयोग गरी सामाजिक सञ्जालमा भ्रम फैलाएपछि निर्वाचन आयोगले मेटा र साइबर ब्युरोलाई जानकारी गराएको छ।
शनिबार आयोगले फेसबुकको कम्पनी मेटा र नेपालको साइबर ब्युरोलाई यसबारे जानकारी गराएको हो। विभिन्न मिडिया समेतको दुरूपयोग गरी ‘प्रचण्ड बाहेकका माओवादी उम्मेदवारलाई भोट नदिन कांग्रेसको गोप्य सर्कुलर’ जस्ता समाचारका फोटोहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन्।
यस्ता फोटोहरू भाइरल बनेपछि आयोगले यसबारे मेटा र ब्युरोलाई जानकारी गराएको उपसचिव कमल भट्टराईले जानकारी दिए।
‘हामीले आफ्नो च्यानलमार्फत मेटा र साइबर ब्युरोलाई जानकारी गराइसकेका छौं। उहाँहरूको पोलिसीअनुसार अघि बढ्नुहुन्छ,’ उनले भने।
यसरी भ्रमपूर्ण फोटोहरू भाइरल बनेपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पनि आपत्ति जनाएको छ।
यस्ता कार्यमा संलग्नलाई कारबाही गर्न समेत माग गरेको छ।
यो पनि: कांग्रेस-माओवादीको संयुक्त वक्तव्य- दुई पार्टीबीच फाटो गराउन खोजियो, भ्रमपूर्ण सूचनामा विश्वास नगर्नू