चिनियाँ कम्युनिष्ट पार्टीले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व छानेको छ। तेस्रो कार्यकालका लागि महासचिव चुनिएका सी चिनफिङले आइतबार आफ्नो टिम सार्वजनिक गरेका छन्।
चिनियाँ कम्युनिष्ट पार्टीमा पोलिटब्युरो स्थायी समिति निर्णय गर्ने सर्वोच्च निकाय हो। उक्त समितिमा महासचिवसहित ७ जना हुन्छन्।
साउथ चाइना मर्निङ पोष्टका अनुसार आइतबार सार्वजनिक भएका बाँकी ६ जनाको वरीयता पनि सार्वजनिक भएको छ। वरीयताअनुसार चिनफिङपछि ६३ वर्षीय ली छियाङ छन्। यसको अर्थ अबको पाँच वर्ष उनी चीनको प्रधानमन्त्री बन्नेछन्।
छियाङ सन् २०१७ मा सांघाईमा चिनियाँ कम्युनिष्ट पार्टीको प्रमुख बनेका थिए। त्यसअघि उनी झेजियाङका गभर्नर थिए।
अहिले प्रधानमन्त्री ली खछ्याङ र सभामुख ली चाङ्शु भने नयाँ केन्द्रीय समितिको सदस्यमा पनि परेका छैनन्।
स्थायी कमिटीका अन्य सदस्यहरूमा ली सी, दिङ सेउसियाङ, काइ छी, वाङ हुनिङ, झाओ लेजी परेका छन्।