महिलाले आधा आकाश ढाकेको भन्दै माओ त्सेतुङले लैंगिक समानता नै चिनियाँ कम्युनिष्ट पार्टीको मूल सिद्धान्त रहने बताएका थिए।
चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ सत्ताको बागडोर सम्हालेको सात दशकसम्म पनि उनको यो सिद्धान्त व्यवहारमा कार्यान्वयन भएको छैन। महिलालाई राजनीतिको शक्तिमा पुर्याउँदै पार्टीभित्रको लैंगिक असमानता हटाउन चिनियाँ कम्युनिस्ट पार्टी असफल देखिन्छ।
चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी कमिटी ७ सदस्यीय छ। यो कमिटीमा सबै पुरूष छन्। २५ सदस्यीय पोलिटब्युरोमा एक मात्रै महिला छन्। यता २०३ सदस्यीय केन्द्रीय कमिटीमा १० जना महिला छन् भने १ सय ६८ वैकल्पिक केन्द्रीय सदस्यको सूचीमा २० जना महिला छन्। पाँच वर्षअघि भएको चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं राष्ट्रिय अधिवेशनमा आएका २२ सय ८० महाधिवेशन प्रतिनिधिमा महिलाको संख्या ५सय ५० मात्र थियो।
१९ औं अधिवेशनबाट २५ सदस्यीय पोलिटब्युरोमा सुन चुनलान मात्रै पुगेकी थिइन्। अब उनी राजनीतिबाट अवकास लिँदैछिन्। उनी पार्टीको उपाध्यक्षमा समेत बनेकी थिइन। सन् २०१७ मा सुनलाई उपाध्यक्षमा चयन गरेर महिलालाई नेतृत्वको अग्रपंक्तिमा ल्याउन चिनियाँ कम्युनिष्ट पार्टी हिच्किचाउँदैन भन्ने सन्देश दिन खोजिएको थियो। २० औं महाधिवेशनबाट उनले अब अवकाश प्राप्त गर्ने भएपछि कसलाई ल्याउने भन्ने संकट पार्टीलाई परेको छ।
पुरातन चीनभन्दा पृथक बनाउनका निम्ति चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक माओ त्सेतुङले सन् १९४९ मा लैंगिक समानताको नारा ल्याएका थिए।
‘महिलाले आधा आकाश ढाक्छन् भनेर उनीहरूलाई समान अधिकार दिन खोजिएको थियो। सात दशकसम्म पार्टीमा प्रतिनिधित्व भने सिद्धान्त अनुसारको भएन। अहिले त ग्रेट हल अफ पिपलको अग्रपंक्तिको लहरमा महिला चयन गर्न पनि सकस देखिन्छ,’ चिनियाँ राजनीतिमा महिला नेतृत्वबारेका अध्येता चेङ लीले भने।
सन् १९४९ यता चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरोमा ६ जना महिला मात्रै पुगेका छन्। तीमध्ये तीन जना कम्युनिष्ट पार्टीका संस्थापक नेताका श्रीमती थिए। २० औं अधिवेशनमा पोलिटब्युरो सदस्यका लागि सेन यिङले मात्रै सशक्त दाबी गरिरहेकी छन्। उनी चीनको दक्षिणी क्षेत्रमा पर्ने उइजो प्रदेश कमिटीकी सचिव हुन्।
चीनमा महिलाहरूको संख्या ७० करोड तीस लाख रहेको छ। यो कुल जनसंख्याको ४८.७ प्रतिशत हो। महिलाहरू राजनीतिमा सहभागी नभएकै कारण चिनियाँ कम्युनिष्ट पार्टीमा उनीहरूको प्रतिनिधित्व कम भएको होइन। जनवरी २०२० देखि जुन २०२१ सम्म पार्टीले बाँडेको सदस्यताको तथ्यांकलाई केलाउँदा आधाभन्दा बढी नयाँ सदस्य महिला छन्। विगतदेखि नै महिला सदस्यको संख्या उल्लेखनीय नै रहेको छ।
तर नेतृत्व तह पुरूषहरूले नै ओगट्ने प्रचलनले उच्च तहमा महिलाको प्रतिनिधित्व कम भएको चिनियाँ अध्येता मिङ्लु चेनले साउथ चाइना मर्निङ पोस्टसँग भनेकी छिन्।
‘संघ तथा प्रान्तका सरकारी संस्थानहरूमा व्यवस्थापकीय भूमिका निभाएका पुरुषहरूले नै चिनियाँ कम्युनिष्ट पार्टीको उच्च ओहोदाको पद पाएका छन्। नेतृत्व विकास हुने त्यस्ता संस्थामा महिलाहरूलाई बिरलै पठाइएको छ,’ चेनले भनिन्।
अर्का अध्येता बो चोइले गुटगत सम्बन्धका आधारमा नेता चयन हुने भएकाले चिनियाँ कम्युनिष्ट पार्टीमा महिलाहरूको सहभागिता कम भएको तर्क गरे। ‘चिनियाँ कम्युनिष्ट पार्टीमा व्यक्तिगत क्षमताका आधारमा होइन, गुटगत आधारमा नेता चयन हुन्छन्। त्यहाँ नेता निर्वाचित गर्ने होइन, शक्तिशालीले छान्ने चलन छ,’ साउथ चाइना मर्निङ पोस्टसँग उनले भनेका छन्।
पार्टीमा महिलाको प्रतिनिधित्व कम भएपछि सन् १९९० मा अखिल चीन महिला महासंघकी अध्यक्ष चेन मोह्वाले आरक्षण प्रणालीको वकालत गरेकी थिइन्। उनको अग्रसरताका कारण सबै तहका सरकारमा कम्तीमा एक जना महिलाको प्रतिनिधित्व हुनै पर्ने नीति लिइएको थियो। तर त्यसमा अपवादमा रह्यो, चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो।
‘सुनको स्थानमा अर्की महिला ल्याउनका निम्ति कुनै छेकबार छैन तर चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो महिलाविहीन भए आश्चार्य मान्नुपर्ने छैन,’ अर्का अध्येता भेलारी टन भन्छन्।
२५ सदस्यीय पोलिटब्युरोमा महिलाको प्रतिनिधित्व गर्ने सुनको उत्तराधिकारी अब को बन्ला वा महिला सदस्य रिक्त होला भन्ने कुरा शनिबार सकिने चिनियाँ कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय सम्मेलनपछि प्रस्ट हुनेछ।
(न्युयोर्क टाइम्स, रोयटर्स, साउथ चाइना मर्निङ पोष्टलगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा।)