नेकपा एमालेका नेता भीम रावलले पार्टीले गरेको तालमेललाई अनैतिकताको नमूना भनेका छन्।
कमल थापालाई सूर्य चिह्नबाट लडाउने र सरकारबाट राजीनामा नदिएको जनता समाजवादी पार्टी (जसपा) सँगको तालमेललाई उनले अनैतिक भनेका हुन्।
सोमबार राति ट्विट गर्दै उनले लेखेका छन्, 'नैतिकताकाे नमूनाः कमल थापा एमालेकाे सूर्यमा उम्मेदवार हुने तर निजका अरू उम्मेदवार तीर चिह्नमा लड्ने र उपेन्द्र यादवको जसपा सरकारमा रहिरहने तर तालमेल एमालेसँग गर्ने! निर्वाचन आयोगले एक व्यक्ति दुई पार्टीमा रहन नसक्ने भनी प्रष्ट्याउनु पर्ने। यस्तैलाई एमालेले बोक्ने! के हुन लाग्यो!'
यसअघि पनि उनले ट्विट गर्दै आफूलाई टिकट नदिएको विषयमा उचित समयमा बोल्ने बताएका थिए।
आफूलाई उम्मेदवार नबनाए पनि ठीक छ भनेर प्रचार गरिएको भन्दै उनले ट्विटमै आपत्ति समेत जनाएका छन्।
'मलाई उम्मेदवार नबनाए पनि ठीक छ भनेको भनी प्रचार गर्नु कुनियत हो। उचित समयमा बोल्ने नै छु,' उनले भनेका छन्।
आफ्नो नाम क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा सर्वसम्मतले एकल पठाउँदा पनि केन्द्रले अन्यायपूर्ण किसिमले हटाएको पनि बताएका छन्।
पार्टीले आफूलाई उम्मेदवारीबाट बञ्चित गराएको विषयमा सही समयमा धारणा सार्वजनिक गर्ने उनको भनाइ छ।
अछाम जिल्ला कमिटीले रावलको नाम सर्वसम्मत सिफारिस गरे पनि क्षेत्र नम्बर १ मा माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोराले टिकट पाएका छन्।