मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागि आइतबार दाङको क्षेत्र नं. ३ मा विभिन्न दलका उम्मेदवारले झरीका बीच रुझ्दै आ–आफ्नो उम्मेदवारी दर्ता गरेका छन्।
मनोनयन दर्तापछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले आफूलाई मतदाताले विजयी बनाए विगतमा नौ महिने मन्त्री हुँदा आफूले गरेका विकास निर्माणका कामलाई निरन्तरता दिने बताए।
तीन निर्वाचन क्षेत्र रहेको दाङ अन्तरगत क्षेत्र नं. ३ मा उम्मेदवारी दर्ता गराएका नेता गिरी जिल्लामा गठबन्धनबाट कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यका एक्ला उम्मेदवार हुन्।
कांग्रेसबाटै प्रदेश तर्फ ३ (क) मा उम्मेदवारी दिएका लुम्बिनी प्रदेशका ग्रामिण, पर्यटन तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी आफूले जिल्लामा धेरै विकास निर्माणको काम गरेको भन्दै अधुरा विकास निर्माणका कामहरू पुरा गर्न आफूले उम्मेदवारी दिएको तर्क गरे।
आधुनिक शिक्षा, स्तरीय स्वास्थ्य सेवा, बेरोजगारी अन्त्य र विकासका लागि आफ्नो उम्मेदवारी भएको उनले बताए।
‘मैले अरूले जस्तै तुलसीपुरबासीलाई ऋण थोपर्ने छैन,’ उनले भने, ‘बरू जहिल्यै जिल्लाबासीको शिर ठाडो पार्ने गरी काम गर्नेछु।’
नेकपा माओवादी केन्द्रबाट प्रदेश तर्फ ३ (ख) मा उम्मेदवारी दिएका धनबहादुर मास्केले पश्चिम दाङको समग्र विकासका लागि आफ्नो उम्मेदवारी भएको तर्क गरे। त्यस्तै उनले देशमा उत्पन्न संकट मोचनका लागि आफ्नो उम्मेदवारी भएको दाबी गरे।
प्रतिगमनलाई परास्त गरी देशलाई निकास र विकास गर्न आफ्नो उम्मेदवारी भएको उनले बताए।
मनोनयन दर्तापछि एमालेबाट निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यकी उम्मेदवार कोमल वलीले आफूले जिते भौतिक पूर्वाधार निर्माण र विकासमा जोड दिने बताइन्। आफूले जीवनको लामो समय कला क्षेत्रमा बिताएको हुँदा सबैले माया गर्ने र त्यही आधारमा विजय हासिल गर्ने उनको दाबी थियो।
‘म दाङकै चेली छोरी हुँ र मेरो कला क्षेत्रको लामो योगदान मात्रै हैन,’ उनले भनिन्, ‘राष्ट्रिय सभामा छँदा खेलेको भूमिकाका आधारमा पनि सबैले मलाई मतदान गरी विजयी गराउने आशा गरेकी छु।’
एमालेबाट प्रदेश सभा तर्फका ३ (क) का उम्मेदवार घनश्याम पाण्डेले पार्टीबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको रुपमा उम्मेदवार बनेको र जितेपछि संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले थालनी गरेका कामलाई पूर्णता दिने बताए।
त्यस्तै एमालेबाट ३ (ख) मा उम्मेदवारी दिएका हुकुमबहादुर बस्नेतले एमालेकै पहलमा दाङमा प्रदेशको राजधानी आएको र अहिले आएर त्यो भूमिकालाई ओझेलमा पार्ने काम भएको हुँदा त्यसलाई अगाडि बढाउन भूमिका खेल्ने बताए।
मध्यान्ह १२ बजेसम्म छिटफुट पानी परेको थियो। तर त्यसपछि ठूलो झरी सुरू भएको थियो।
त्यतिखेर प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र पार्टीका कमल सुवेदी घन्टी बजाउँदै केही समूहसहित मनोनयन दर्ता गराउन पैदल हिँडेर आएका थिए।
लगत्तै तुलसीपुरमा झरी सुरू भएको थियो। तुलसीपुरस्थित निर्वाचन अधिकृतको कार्यालयले नेकपा एमालेका उम्मेदवारलाई दिउँसो १ बजे अगावै मनोनयन दर्ताको लागि बोलाएको भएपनि झरीका कारण उनीहरू पुग्न सकेनन्।
गाउँ-गाउँबाट बसमा शक्ति प्रदर्शनका लागि बोलाइएका कार्यकर्तापनि झरीका कारण उम्मेदवारी दर्ता गराउँदासँगै जान सकेनन्।
झाँकी जुलुससहित बजार परिक्रमा गरी निर्वाचन अधिकृतको कार्यलय पुग्ने उनीहरूको चाहाना वर्षाका कारण स्थगित हुन पुग्यो। त्यसपछि उनीहरू सवा १ बजे छाता ओढेर पैदल नजिकैको भूसंरक्षण कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका थिए।
गठबन्धनका दलले पनि त्यसैगरी शक्ति प्रदर्शन गर्न गाउँ-गाउँबाट कार्यकर्तालाई बोलाएको थियो। नेपाली कांग्रेस लगायत दललाई २ बजे तिर निर्वाचन अधिकृतको कार्यालय मनोनयन दर्ताको लागि बोलाएको थियो।
सवा २ बजे भित्रै मनोनयन दर्ताको लागि उनीहरू कार्यालय पुगेका थिए। मनोनयन दर्तापछि तुलसीपुर – ६ स्थित सम्पर्क कार्यालय पुगेपछि उम्मेदवार लगायतले मन्तव्य राखेका थिए।
झाँकी जुलुसका लागि बोलाइएका बाजागाजा बजाउँदै उल्लासपूर्वक मनोनयन दर्ता गराउन नपाएपनि उनीहरूले त्यहीँ केही बेर नाचगान गरे।
त्यस्तै नेकपा एमालेका उम्मेदवारहरू तुलसीपुर–६ स्थित सब्जी मण्डि भित्रको ट्रष्टमा पुगेर मन्तव्य राखेका थिए। उनीहरूले पनि त्यही नाचगान गरेका थिए।