मंसिर ४ गते नजिकिँदै गर्दा दाङका तीन निर्वाचन क्षेत्रका सम्भावित उम्मेदवारहरू मतदात समक्ष पुग्न थालिसकेका छन्।
गठबन्धन र नेकपा एमालेका सम्भावित उम्मेदवारमात्रै नभई उनका नजिकका मानिसहरूले समेत भोट माग्न थालिसकेका हुन्।
उनीहरूले टिकट निश्चित भइसकेको भन्दै सार्वजनिक स्थल, जमघटहरूमा भोट मागिरहेका छन्।
निर्वाचन आयोगले दसैं लगत्तै असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय तोकेको छ। उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरी २८ गतेदेखि मतपत्र छपाइ सुरू गर्ने आयोगले जानकारी दिइसकेको छ।
दाङ क्षेत्र नं. ३ मा दीपक गिरी र कोमल वली भिड्ने लगभग निश्चित
दाङ क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरी र नेकपा एमालेकी केन्द्रीय सदस्य कोमल वलीबीच प्रतिस्पर्धा हुने सम्भावना प्रबल देखिएको छ।
प्रतिनिधि सदस्य पदमा कांग्रेस नेता गिरी उम्मेदवार बन्ने निश्चित भइसकेको छ। त्यस्तै वलीलाई एमाले उम्मेदवारको रूपमा खडा गर्ने लगभग पक्कापक्की भएको स्रोतको दाबी छ।
गिरी २०७० सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा सिँचाई मन्त्री भएका थिए। गिरी कलिलै उमेरदेखि नेपाली कांग्रेसमा लागेका नेता हुन्। एक दलीय पञ्चायती व्यवस्थाविरूद्ध स्कुलमा पढ्दादेखि नै उनी कांग्रेसको झण्डा बोकेर संघर्षमा उत्रिएका थिए।
गिरी यसअघि पनि पटक-पटक निर्वाचनमा भिडेका व्यक्ति हुन्। उनी विगतमा यही क्षेत्रबाट हालका एमाले महासचिव शंकर पोखरेलसँग पनि संसदीय निर्वाचनमा भिडेका नेता हुन्। पश्चिम दाङ कांग्रेसको बलियो पकड भएको क्षेत्र हो। कतिपय कांग्रेस जनको बुझाइमा आन्तरिक रुपमा पार्टी भित्र मजबुत व्यवस्थापन गर्न नसके गुटबन्दीका कारण गिरीलाई अप्ठेरो पर्न सक्ने तर्क गर्छन्।
त्यस्तै एमालेबाट सम्भावित उम्मेदवार कोमल वली २०७४ सालको निर्वाचनको केही समय पहिला मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी नेकपा एमालेमा पार्टी प्रवेश गरेकी नेता हुन्। समानुपातिक सांदस हुँदै उनी त्यो बीचमा पार्टी भित्रकै धेरैलाई पछि पार्दै राष्ट्रिय सभा सदस्यसमेत बनेकी थिइन्।
पार्टीमा भएको पहुँचका कारण वलीले राजनीतिमा वर्षौं संघर्ष र दुःख गरेका नेताहरूलाई पाखा लगाउँदै प्रत्यक्षतर्फको उम्मेदवार बन्न थालेको चर्चा चुलिएको छ। प्रत्यक्ष रूपमा संसदीय निर्वाचनमा भिड्न लागेको यो नै पहिलो पटक हो। कतिपय एमालेकै नेताहरूले त्यही भएर उनलाई रूचाउँदैनन्।
‘पार्टीमा कुनै दुःख नै नगरी नेताको वरिपरी घुमेर टिकट ल्याउनेहरूलाई मतदान गर्न सकिँदैन,’ एमालेका एक पूराना नेताले भने, ‘यदि कोमल वलीले टिकट पाइन् भने त्यो पार्टीका लागि दुर्भाग्य साबित हुने छ।’
वली यसअघि पत्रकारिता तथा गायन क्षेत्रमा जमेकी नेता हुन्। उनले लामो समय रेडियो नेपालको समाचार वाचिकाको रूपमा समेत काम गरेकी थिइन्। महत्वपूर्ण सभा समारोहमा उनले उद्घोषकको रूपमा काम गर्ने गर्थिन्। उनका गायका थुप्रै गीतहरू चर्चामा छन्। आजपनि गायन पेशालाई सौख वा रुचीको रुपमा अगाडि बढाउँदै लगेकी छन्।
उनले त्यही आफ्नो कलालाई उपयोग गर्दै आगामी निर्वाचनमा मत बटुल्ने प्रमुख अस्त्रका रुपमा प्रयोग गर्ने र सहज जित निकाल्ने सम्भावना रहेको उनी निकटले दाबी गर्ने गरेका छन्।
पछिल्लो समय उनी आफ्नो निर्वाचन क्षेत्रमा हुने कुनैपनि सामाजिक कार्यमा सक्रिय रूपमा उपस्थिति जनाउँदै मतदाताको मन जित्ने कसरतमा लाग्दै आएको उनी निकटका व्यक्तिहरू बताउँछन्।
कांग्रेसका गिरीलाई एकातिर पाँच दलीय गठबन्धनको साथ समर्थन रहनेछ भने अर्को तर्फ वली एमालेको तर्फबाट एक्लै मैदानमा उत्रनुपर्ने परिस्थिति देखिएको छ। २०७४ सालको निर्वाचनमा अहिलेका स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले गिरीलाई पराजित गरेका थिए। उनले त्यतिबेला एमालेबाट चुनाव जितेको भएपनि अहिले उनी नेकपा एकीकृत समाजवादी पार्टीमा छन्। त्यसैले गठबन्धनका कारण नेता गिरीलाई अहिले हिराचन्द्रको पनि समर्थन रहने हुँदा थप सहज हुने कतिपयको आकलन गरिएको छ।
एमाले जनहरू भने पहिले जितेको ठाउँमा फेरि एमालेले कै उम्मेदवारले जित्ने दाबी गर्छन्।
‘केही व्यक्तिहरू चोइटिएर गएपनि त्यसले हामीलाई असर पुर्याउँदैन,’ एक युवा नेताले भने, ‘२०७४ सालमा पार्टीका उम्मेदवारले जति मत पाएका थिए अहिलेपनि त्यो भोट पाउने छन्।’
निर्वाचनको समयमा उम्मेदवार बनेका सबैले आफूले जित्ने दाबी गर्नुलाई अन्यथा होइन। तर, निर्वाचन पछि आउने परिणामले मात्रै कसको दाबी सही भन्ने छिनोफानो गर्न सक्छ।
प्रदेश तर्फ
निर्वाचन क्षेत्र नं. ३ (१) मा यतिखेरपनि कांग्रेसले लुम्बिनी प्रदेशका ग्रामिण, पर्यटन तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीलाई उम्मेदवारको रुपमा प्रस्तुत गर्ने लगभग निश्चित भइसकेको छ।
२०७४ सालको निर्वाचनमा जिल्लाका तीन निर्वाचन क्षेत्र सबै हार्दापनि नेता चौधरीले मात्रै जितेका थिए। उनले नेकपा माओवादी केन्द्रका नेता तथा अहिलेका राष्ट्रिय सभा सदस्य जगप्रशाद शर्मा (अपार) लाई पराजित गरेका थिए। गठबन्धनका कारण परिस्थितिले अहिले उनै अपारपनि कांग्रेस नेता तथा लुम्बिनी प्रदेशका मन्त्री चौधरीको साथसाथै चुनावी अभियानमा छन्। जसले गर्दा मन्त्री चौधरीलाई जित्न कुनै कठिन नहुने धेरै कांग्रेस जनको दाबी छ।
‘२०७४ सालमा पार्टीका सबैले हार्दा त उहाँले जित्नु भएको थियो भने यस पटक झनै उहाँले जित्न कुनै बाधा म देख्दिनँ,’ एक नेताले भने।
मन्त्री चौधरीले अहिले पनि विगतमा जस्तै सहज जित निकाल्न सके र लुम्बिनी प्रदेशमा गठबन्धनको सरकार बन्ने भएमा उनी मुख्यमन्त्री बन्ने सम्भावना नकार्न नमिल्ने उनी बताउँछन्।
यो निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट उनकै छिमेकी नवराज लामिछानेलाई एमालेले उम्मेदवारको रूपमा प्रस्तुत गर्न थालेको छ। लामिछाने यसअघि तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष थिए। कांग्रेस नेता चौधरी जस्तै उनी पनि सामाजिक क्षेत्रबाट उदाएका नेता हुन्।
लामिछाने एक शालिन नेताको छवि बनाएका व्यक्ति पनि हुन्। उनी पनि संसदीय निर्वाचनमा पहिलो पटक भिड्न लागेका व्यक्ति हुन्। वडामा उनको बलियो पकड रहेपनि बाहिर त्यस्तो देखिँदैन । तर, एक जना एमालेका नेताका अनुसार चुनाबमा पार्टी भिड्ने भएको हुँदा पार्टीको मत स्वत: आफ्ना उम्मेदवारलाई आउने दाबी गर्छन्।
‘को व्यक्ति कति लोकप्रिय छ भन्ने कुराले खासै मान्य राख्दैन,’ उनले भने, ‘लामिछानेलाई पार्टीले उम्मेदवार बनाएको हुँदा पार्टीको मत दायाँबायाँ हुने छैन।’
त्यस्तै निर्वाचन क्षेत्र नं. ३ (२) मा गठबन्धन दलबाट नेकपा माओवादीका धनबहादुर मास्के (राजेश) उम्मेदवार बन्ने सम्भावना बनेको चर्चा भइरहेको छ। मास्के माओवादी युद्ध ताका डिभिजन कमाण्डर थिए। उनको पार्टी अध्यक्ष प्रचण्डदेखि सबै नेताहरूसँग राम्रो सम्बन्ध छ। यद्यपि शान्ति प्रक्रियापछि उनी गुमनाम जस्तै बनेका थिए। व्यापार व्यवसायमा सक्रिय उनले यसबीच आर्थिक स्थिति निकै मजबुत बनाएको जानकारहरू बताउँछन्। गठबन्धनअनुसार मतदान भए मास्केको जित स्वत: हुने माओवादीका स्थानीय नेताहरू दाबी गर्दै आएका छन्। मास्के प्रत्यक्ष रूपमा संसदीय निर्वाचनमा होमिन थालेको यो पहिलो पटक हो।
यो निर्वाचन क्षेत्रमा एमालेले जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतलाई उम्मेदवारका रुपमा प्रस्तुत गरेको छ। बस्नेत एमालेमा अनवरत रूपमा सक्रिय नेता हुन्। पार्टी विभाजनका क्रममा समान्तर कमिटी बन्दै गर्दा उनी जिल्ला अध्यक्ष बनाइएका थिए। बस्नेत महासचिव पोखरेलका विश्वास पात्र मध्ये एक हुन्। बस्नेतको पनि प्रत्यक्ष रुपमा संसदीय उम्मेदवार बन्ने लागेको पहिलो पटक हो। यद्यपी जिल्ला पार्टीको पदाधिकारी हुँदा उनले विभिन्न समय पार्टीका उम्मेदवारका लागि सक्रिय भूमिका खेलेको अनुभव संगालेका छन्।
क्षेत्र नं. २ मा शंकर पोखरेल र रेखा शर्मा भिड्ने सम्भावना
नेकपा एमालेले महासचिव शंकर पोखरेललाई दाङ क्षेत्र नं. २ मा एकल उम्मेदवारको रूपमा यसअघि नै प्रस्तुत गरिसकेको छ।
पोखरेल २०७४ सालको निर्वाचनमा २(१) बाट निर्वाचित भएका थिए। उतिखेर निर्वाचन नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पार्टी प्रवक्ता कृष्णबहादुर महरा अहिले समानुपातिक तर्फ गएका छन्।
महराले सुरूमा आफू प्रत्यक्ष तर्फ भिड्ने बताएपनि अन्तिममा उनी समानुपातिक तर्फ गएपछि एमाले जनहरू पोखरेलको जीत सुनिश्चित जस्तै भइसकेको दाबी गर्छन्। यो २०७४ मा महासचिव पोखरेल निर्वाचित २ (१) मा एमालेले बलिबद्र रानालाई उम्मेदबार बनाएको छ। राना यसअघिका लुम्बिनी प्रदेश निर्माण व्यवसायी संघका अध्यक्ष थिए ।
महराले निर्वाचन क्षेत्र नं. २ मा समानुपातिक रोजेपछि पूर्व मन्त्री तथा माओवादी नेता रेखा शर्मा खड्कालाई उम्मेदवार बनाउने लगभग निश्चित जस्तै रहेको माओवादी नेताहरूले बताउँदै आएका छन्। स्थायी किमिटी सदस्य रेखा लोकप्रिय नेता हुन्। गठबन्धन भएअनुसार मतदान भए रेखाले सहज जित निकाल्ने माओवादी नेताहरू दाबी गर्छन्।
‘निर्वाचन भनेको प्राविधिक कुरा हो,’ एक नेताले भने, ‘ठूलो नेता सानो नेता भनेर हुँदैन। गठबन्धन दलसँग पहिलै बहुमत छ। रेखाले चुनाव जित्ने निश्चित जस्तै छ।’
उनका अनुसार एकातिर महिला हुनु, अर्को तर्फ कांग्रेस लगायतका दलका मजबुत क्षेत्र हुनुले रेखाले चुनाब जित्ने दाबी गरे।
गठबन्धन दलहरूबाट कांग्रेसका विभिन्न नेताहरूको नाम निर्वाचन क्षेत्र नं. २ (१) र २ (२) मा आइरहेको भएपनि अन्तिममा कसले टिकट पाउला भन्ने चासोको विषय बनेको छ। एमालेले पनि २ (२)मा कसलाई उम्मेदवारका रुपमा खडा गर्ने भनेर टुंगो लगाइसकेको छैन।
क्षेत्र नं. १ मा गठबन्धनबाट मेटमणि
हालका सहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले गठबन्धनबाट निर्वाचन क्षेत्र नं. १ मा टिकट पाउने लगभग निश्चित जस्तै छ। २०७४ सालको निर्वाचनमा चौधरीले यही क्षेत्रबाट निर्वाचन जितेका थिए। तर, उतिखेर उनले नेकपा एमालेबाट निर्वाचन जितेका थिए।
यो क्षेत्रमा नेकपा एमालेले पूर्व सांसद गंगा चौधरी र शान्ता चौधरी मध्यबाट एक जनालाई उम्मेदवार बनाउने निर्णय गरेपनि कसलाई मेटमणिविरुद्ध खडा गर्ने भन्ने अझै टुंगा नलागेको जिल्लाका एक नेताले बताए ।
त्यस्तै यहाँबाट प्रदेश सांसद तर्फ १ र २ मा उठाउने उम्मेदवार पनि एमालेले टुंगो लगाएको छैन। गठबन्धन दलबाट नेपाली कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काका एक मात्र छोरा तथा महासमिति सदस्य अनुराग खड्काको नाम चर्चामा छ। निर्वाचन क्षेत्र नं. १ (२) मा उनको टिकट लगभग टुंगो लागेको कांग्रेस नेताहरूले बताए।
तर कांग्रेस भित्रकै केही नेताहरूले भने जुनियरलाई टिकट दिए विद्रोह हुने चेतावनी दिन थालेका छन्। त्यसैले एमाले त्यही दाउ छोप्ने मौकामा छ।
‘टिकट नपाए कांग्रेसका केही नेताहरू एमाले प्रवेश गरी एमालेबाटै उम्मेदवार बन्ने सम्मको कुरा चलिरहेको ,’ एमालेका एक जिल्ला नेताले भने, ‘हामी त्यसको प्रतिक्षामा छौं।’
त्यही भएर प्रदेश तर्फको उम्मेदवार टुंगो लगाउन केही दिन कुर्नुपर्ने अवस्था आएको उनले बताए।